केही समयदेखि हेटौंडामा डेंगुको संक्रमण देखिएको छ । साउन मध्येदेखि नै डेंगु संक्रमणका बिरामीहरु भेटिए पनि यसको नियन्त्रणमा प्रभावकारी कदम चालिएको छैन । विशेषगरी हेटौंडाको वडा नम्बर ४ र ५ मा डेंगुका बिरामी बढी भेटिएका कारण महामारीको रुप लिन नदिन सचेतता अपनाउनु आवश्यक छ । डेंगु संक्रमण नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले केही ठाउँमा लामखुट्टे मार्ने औषधी छर्कने काम गरेको भए पनि अन्य उपाय अपनाइएको छैन । हेटौंडाका सरकारी तथा निजी अस्पतालमा डेंगु परीक्षणका लागि आउने बिरामीको संख्या उल्लेख्य छ ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । यसको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी ४ प्रकारका हुन्छन् । नेपालमा सर्वप्रथम सन् २००६ मा बाँकेमा यो रोगको बिरामी भेटिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनि विश्वमा करिब ६ करोड व्यक्ति यो रोगबाट संक्रमित हुन्छन् भने २ अर्ब ५० करोड व्यक्ति जोखिममा रहने गरेका छन् । यो रोग सार्ने लामखुट्टे ग्रामीण भेगमा भन्दा शहरी भेगमा बढी पाइने गरेको छ । डेंगुलाई ‘ब्याक बोन फिभर’का नामले पनि चिनिन्छ । यो रोग लाग्दा एक्कासी ज्वरो आउने, टाउको, ढाड, जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, रक्तचाप घट्ने, नाक, कान, गिजा, गुद्द्वारबाट रगत आउने जस्ता लक्षणहरु देखा पर्छन् । यो रोगविरुद्ध खोप तथा खास कुनै उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो ।

पछिल्लो केही हप्तादेखि हेटौंडालगायत देशका अन्य शहरमा डेंगु संक्रमण व्यापक बनिरहेको छ । प्रत्येक वर्ष वर्षाको समयमा डेंगु संक्रमणको प्रभाव देखिने गरेको भए पनि पछिल्ला वर्षहरुमा कोभिड संक्रमणले यो ओझेलमा परेको थियो । अस्पतालहरुमा डेंगु संक्रमण जाँचका लागि आउनेको संख्या पनि बढ्दै जाँदा यसको नियन्त्रणमा सम्बद्ध निकाय गम्भीर बन्नु आवश्यक देखिएको छ । तर, हेटौंडा अस्पतालमा डेङ्गु परीक्षण किट सकिएपछि बिरामी समस्यामा परेका छन् । गत बिहीबारबाट अस्पतालमा किट सकिएपछि अस्पतालमा डेङ्गु परीक्षण नै रोकिएको हो । डेंगु संक्रामक रोग भएका कारण समयमै यसको संक्रमण पहिचान हुन नसकेमा बिरामीको ज्यान जान सक्छ । हेटौंडा अस्पतालमा मात्रै दैनिक ५० देखि ७० जनाले डेङ्गु परीक्षण गराउने गरेकोमा किट अभावलाई कारण देखाएर परीक्षण रोक्नु उचित होइन । निजी अस्पताल तथा प्रयोगशालामा जति पनि किट उपलब्ध हुने, सरकारी अस्पतालमा किट नभएको भन्दै बिरामी फर्काउनु अस्पताल प्रशासनको कमजोरी हो ।

महामारीको रुप लिन लागेको डेंगुको परीक्षणका लागि किटको व्यवस्थापन जसरी पनि गर्नुपर्छ । डेङ्गु संक्रमित बढेका र सरकारले किट उपलब्ध नगराएको भनेर अस्पताल प्रशासन पन्छिने हो भने आम नागरिकले कसरी स्वास्थ्य उपचार पाउने ? तीन तहको सरकार हुँदासमेत आम नागरिकले उपचार सुविधा नपाउनु भनेको विडम्बना हो । डेंगु संक्रमण बढ्न नदिन हेटौंडा उपमहानगरपालिका र अन्य सरोकारवाला निकाय गम्भीर बन्नुपर्छ । पछिल्लो केही दिनदेखि लगातार पानी परेर वर्षाको पानी जमेका कारण यसको संक्रमण अझ बढ्नसक्ने सम्भावना देखिन्छ । डेंगु संक्रमणबाट बच्न आम सर्वसाधारणसमेत सचेत र जागरुक बन्नु आवश्यक छ । डेंगुबाट बच्नका लागि घर वरिपरि सरसफाइ गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, घरका झ्याल एवम् ढोकामा जाली लगाउने, रोगको लक्षण देखिएमा स्वास्थ्य परीक्षण गर्ने गरेमा यसबाट बच्न सकिन्छ । डेंगु सार्ने लामखुट्टे भएका र त्यसले लार्भा उत्पादन गर्नसक्ने सम्भावित स्थल पहिचान गरी त्यसलाई नष्ट गर्न सकेमा डेंगु नियन्त्रण हुनसक्छ ।