हेटौंडाः संघीयता कार्यान्वयनसँगै विद्यालय तहको शिक्षाको व्यवस्थापन स्थानीय सरकारलाई दिने निर्णय गरियो । नागरिकको आधारभूत आवश्यकताको विषय स्थानीय तहलाई दिँदा उपयुक्त हुने ठहर गर्दै दिइएको जिम्मेवारी बहन गर्न भने हम्मे हम्मे छ । संघीयता कार्यान्वयनमा आएर स्थानीय तहमा जनप्रतिनिधिले निर्वाचित भएर एक कार्यकाल पूरा गरिसक्दा पनि शिक्षामा भने ध्यान पुग्न सकेको छैन । विद्यालय तहको शिक्षाको जिम्मेवारी पाएको स्थानीय सरकारले पालिकाभित्रका विद्यालयमा विद्यार्थीको विवरण समेत लिन सक्ने अवस्था छैन ।
हेटौंडा उपमहानगरपालिकाले २७ वटा विद्यालयबाट विद्यार्थी विवरण लिन सकेको छैन । उपमहागनरभित्र रहेका १ सय २३ वटा सामुदायिक तथा संस्थागत विद्यालयमध्ये २७ वटा विद्यालयबाट उपमहानगरले विद्यार्थी विवरण लिन नसकेको हो । उपमहानगरपालिकाका अधिकारी भने विद्यालयले नै विद्यार्थी विवरण नपठाएको बताउँछ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले हालसम्म ६६ वटा सामुदायिक र ३० वटा संस्थागत गरी ९६ वटा विद्यालयले तोकिएको म्यादभित्र विद्यार्थी विवरण पठाएकोे बताउनुभयो । यसैगरी, १७ वटा संस्थागत र १० वटा सामुदायिक विद्यालयको विद्यार्थी विवरण आउन बाँकी रहेको रिमालले जानकारी दिनुभयो ।
पहिलो त्रैमासिक परीक्षा सकिसक्दा समेत विद्यार्थी विवरण संकलन गर्न नसक्नुले स्थानीय सरकारको अकर्मण्यता पुष्टि हुन्छ । हेटौंडा उपमहानगरपालिकाले साउन १५ गतेसम्ममा विद्यार्थी विवरण भरेर बुझाउन म्याद दिएको भए पनि २७ वटा विद्यालयले अझै पनि विद्यार्थी विवरण नबुझाएको उहाँले बताउनुभयो । विद्यार्थी विवरण बुझाउन बाँकी विद्यालयलाई भदौ १० गतेसम्म बुझाउन आग्रह गरिएको रिमालको भनाइ छ । विद्यालयको लापरवाहीका कारण विद्यार्थी विवरण आउन बाँकी रहेको रिमालले बताउनुभयो । यस्तै, गत वर्ष पनि ७ विद्यालयको विद्यार्थी विवरण नै नआई शैक्षिकसत्र पूरा भएको थियो ।
अहिलेसम्म ९६ वटा विद्यालयकोे विद्यार्थी विवरण हेर्दा हेटौंडा उपमहानगरपालिका भित्र ४१ हजार ३ सय ६२ जना विद्यार्थी शैक्षिक सत्र २०७९ मा भर्ना भएका छन् । १९ हजार १ सय ११ जना छात्रा र २२ हजार २ सय ५१ जना छात्रा गरी ४१ हजार ३ सय ६२ जना विद्यार्थी भर्ना भएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको तथ्याङ्क रहेको छ । यस्तै, गत वर्षको तथ्याङ्क हेर्दा कुल ५० हजार १ सय ५८ जना विद्यार्थी भर्ना भएका थिए । २३ हजार ५ सय ८२ जना छात्रा र २६ हजार ५ सय ७६ जना छात्रा गरी ५० हजार १ सय ५८ जना विद्यार्थी भर्ना भएका थिए । यो वर्षको विद्यार्थी विवरण बुझाएका विद्यालयको विवरण हेर्दा हेटौंडा १० स्थित सोडिल्यारिटि इन्टरनेशनल एकेडेमीमा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । ६ सय ४० जना छात्रा र ९ सय १२ जना छात्र सहित १ हजार ५ सय ५२ जना विद्यार्थी एकेडेमीमा अध्ययनरत छन् ।
विद्यार्थी विवरणकै आधारमा शिक्षकको अनुपात निर्धारण गरी जनशक्ति परिचालन गर्नुपर्ने, पाठ्यपुस्तक, छात्रवृत्ति विवरण, कक्षा कोठा, डेस्कबेन्च जस्ता पूर्वाधार निर्माण, दिवाखाजाको बजेट वितरण गर्नुपर्ने हुन्छ । तर, विद्यार्थीको विवरण विद्यालयले बुझाएर भन्दै शिक्षा महाशाखाका अधिकारीहरु बसिदिनु र जनप्रतिनिधिले पनि त्यसतर्फ ध्यान नदिनु गम्भीर चासोको विषय हो ।