साउन महिनाबाट नेपालीका मुख्य चाडपर्व सुरु हुन्छन् । नागपञ्चमी, जनै पूर्णिमा/रक्षाबन्धन, कुशे औंसीलगत्तै नेपाली महिलाहरुले मनाउने तीज पर्व सुरु हुन्छ । तीजपछि दशैँ र तिहार आउँछ । त्यसपछि क्रमशः छठ पर्व, उधौली, ल्होसार, माघीलगायत चाडपर्वहरु नियमित आउने गर्दछन् । चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहलपहल बढ्छ । बजारमा ग्राहकको चहलपहल बढ्दा वस्तुको माग बढ्न स्वभाविक हो । माग बढ्दा मूल्य बढ्ने बजारको नियम नै हो । कतिपय व्यापारीहरुले यस्तो समयलाई नबिकेका, न्यून गुणस्तरका र मिसावट भएका सामान बेच्ने मौकाको रुपमा प्रयोग गर्दछन् । केही व्यवसायीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरेर अधिक मूल्य लिने प्रयत्न पनि गर्दछन् । बजारमा देखिने यस्ता विकृतिले सधैं उपभोक्ता पीडित बन्ने गरेका छन् ।

हामीकहाँ हरेक वर्ष मुख्य चाडपर्वको अगाडि स्थानीय प्रशासनले बजार अनुगमन गर्ने र बजारलाई नियमन गर्ने प्रयास गर्दछ । तर, चाडपर्व नसकिँदै अनुमगनको जोश पनि सेलाएर जान्छ । हेटौंडा बजारमा बुधबारबाट मौसमी अनुगमन सुरु भएको छ । एकै दिन ५४ वटा पसल÷व्यवसायको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयोजनमा अनुगमन गरिएको हो । जिल्लास्थित विषयगत कार्यालय, हेटौंडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च र नेपाल पत्रकार महासंघसमेतको सहभागितामा ५ वटा अनुगमन टोलीमार्फत् बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा मापदण्डविपरित सञ्चालित ५ वटा पसल/व्यवसायलाई तत्काल जरिवाना गरिएको छ ।

होटल, स्वीट्स एवम् फास्टफुड, अस्पताल तथा स्वास्थ्य संस्था, सुपरमार्केट तथा गोदाम घर, हार्डवेयर, फेन्सी, मोबाइल, मासु, डेरी, भटेरीनरी औषधी तथा चल्ला तथा दाना पसलको अनुगमन गरिएको छ । अनुगमनबाट दुईवटा स्वीट्स एवम् फास्टफुडलाई २०/२० हजार, एउटा डेन्टललाई ५ हजार, एउटा जनरल सप्लायर्सलाई १५ हजार र एउटा सु–सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमन टोलीले एउटा पोलिक्लिनिक, एउटा भेटेरीनरी औषधी पसल र एउटा डेन्टल अनुमतिबिना सञ्चालन गरिएको भन्दै बन्द गरेको छ । यस्तै, २ वटा अस्पतालले अनुमतिभन्दा बढी क्षमताको बेड सञ्चालन गरेको भन्दै अनुमति लिन निर्देशन दिएको छ । होटल व्यवसायमा देखिएका समस्या तत्काल सुधार गर्न सचेत गराएको छ । दर्ता तथा अनुमति नलिएका व्यवसायलाई एक हप्ताभित्र प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामग्रीहरु नियन्त्रणमा लिई नष्ट गरेको छ ।

जनतालाई सहज ढंगले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनु सरकारको दायित्व हो । बजारमा किन विकृति बढिरहेको छ ? उपभोक्ताहरु कसरी ठगिइरहेका छन् ? कुन वस्तुको मूल्य अस्वभाविक बढेको छ ? कुन वस्तुको कसरी कृतिम अभाव सृजना गरिएको छ ? भन्नेजस्ता प्रश्नको उत्तर खोज्न सम्बन्धित निकायले प्रभावकारी बजार अनुगमन गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारण अहिले बजारभाउ आकाशिएको छ । चाडपर्वको समयमा बजारभाउ अझ बढ्न सक्छ । प्रशासनले गर्ने मौसमी अनुगमनले बजारका यस्ता समस्या समाधान गर्न सक्दैन । बजार अनुगमनलाई नियमित बनाएर बजारमा अनियमितता गर्नेलाई तत्काल प्रभावकारी कानुनी कारबाही नहुँदासम्म बजारलाई नियमन गर्न सकिँदैन ।