हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले १० हजार लिटर न्यून गुणस्तरको रक्सी नष्ट गरेको छ । प्रहरी कार्यालय बाराबाट खटिएको ४५ जनाको प्रहरी टोललीले बुधबार दिउँसो महागढीमाई नगर–३ र १० गञ्जभवानीपुरबाट रक्सी नियन्त्रणमा लिई नष्ट गरेको हो ।
प्रहरीले सुरक्षाजाँच गर्दै जानेक्रममा अवैधरुपमा पक्की घरमा १०÷१२ हजार लिटर अट्ने अण्डर ग्राउण्ड ट्याङ्कीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरको रक्सी राखेको अवस्थामा फेला पारेको थियो । न्यून गुणस्तरको रक्सी उत्पादन गर्न लुकाईछिपाई सञ्चालन गरिरहेका १७ वटा अवैध भट्टीहरू पनि प्रहरीले नष्ट गरेको छ ।
प्रहरीले तयारी मदिरा १० हजार लिटर र ८ हजार लिटर कच्चापदार्थ नष्ट गरेको हो । न्यून गुणस्तरको रक्सी उत्पादन गर्न प्रयोग भएका मेशिन, भाँडाकुँडा, ड्रमहरूलगायतका सामग्रीसमेत नियन्त्रणमा लिई थप अनुसन्धान कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।