जनै लगाइँदै । फाईल तस्विर ।

हेटौंडाः आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा हो । आज जनैपूर्णिमा हिन्दु धर्मावलम्बीहरुले बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागोस् सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन् । रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ ।

तागाधारीले आजकै दिन पुरानो जनै फालेर मन्त्र साधना गरिएको नयाँ जनै लगाउने गरिन्छ । सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ । तराईतिर भने रक्षाबन्धनको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधीदिने चलन छ । नेवार समुदायले भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनेर मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाएर मनाउने गर्दछन् ।

यसै दिन गोसाइँकुण्ड (शिवलुती), मणिचूड दह र गोसाइँकुण्डबाट पानी आइराखेको जनविश्वास रहेको ललितपुरको कुम्भेश्वरमा ठूलो मेला लाग्ने गर्दछ । प्राचीनकालमा कुम्भ ऋषिले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वर नामले प्रसिद्ध भएको उक्त तीर्थमा गोसाइँकुण्ड जान नसकेकाहरूले स्नान गरेर कुम्भेश्वर महादेवको पूजा अर्चना गर्दछन् । नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने गरिन्छ।

आज भक्तपुरमा तलेजु भवानीका तर्फबाट “घिंताँ किसी” नाच निकाली भक्तपुर नगर परिक्रमा गराइन्छ । यसै दिनदेखि राजधानी तथा अन्य ठाउँमा बौद्ध धर्मावलम्बीहरु गुँलाबाजा (एक प्रकारको बाजा) बजाउँदै विभिन्न बाहा र बहीमा राखिएका दीपंकर तथागत, बुद्ध बोद्धिसत्वलोकेश्वर, तारा आदिका मूर्तिहरू, पौवा, हस्तलिखित ग्रन्थहरू हेर्न जाने गर्दछन् ।