डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य क्षेत्रमा एक चर्चित नाम हो । पूर्व रामेछाप सैपु, पुलमा २००७ फाल्गुन ७ गते जन्मनु भएका गणेशकुमार पौडेलको नागरिकतामा भने २०१० साल फाल्गुन ७ उल्लेख भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उहाँका एक श्रीमती र दुई छोरा छन् । जिल्ला मकवानपुर, हेटौंडा–२ का स्थायी बासिन्दा पौडेल जनस्वास्थ्य कार्यालय मकवानपुरमा स्वास्थ्य अधिकृत पदमा कार्यरत हुनुहुन्थ्यो । साहित्यिक कर्मथलो हेटौंडालाई बनाउँदै २०२५ सालदेखि लेखन आरम्भ गर्नु भएको उहाँका प्रकाशित कृतिहरुमा उल्लेख भएको पाइन्छ ।
पौडेलले धेरै विधामा कलम चलाएका भए पनि उहाँको उर्वर क्षेत्र भने हास्यसव्यङ्ग्य नै रहेको देखिन्छ । मकवानपुरबाट हास्यव्यङ्ग्यँका पुस्तकहरु प्रकाशित गर्ने साहित्यकारहरु मध्ये पौडेलको नाम अग्रपङ्तिमा आउँछ । उहाँका ११ वटा हास्यव्यङ्ग्य कृतिहरु प्रकाशन भएका छन् । त्यसैगरी स्वास्थ्य सम्बन्धी र यात्रा संस्मरण समेत गरी १८ पौडेलका कूल २९ थान कृतिहरु प्रकाशित भएका छन् । स्रस्टाका बारेमा आत्मनिष्ठ रुपमा बोल्नु भन्दा पनि उहाँका सिर्जनाका पोकाहरु खोल्नु अझ उहाँप्रति सच्चा सम्मानभाव प्रकट हुने हुँदा पौडेलका हास्यव्याङ्ग्यतर्फ प्रकाशित कृतिहरुका केही अंश जस्ताकोतस्तै यहाँ साभार गरेको छु ।
हास्यव्यङ्ग्यडतर्फ पौडेलका प्रकाशित कृतिहरु
मन्त्री पुराण–२०५६
व्यङ्ग्यकार पौडेलको यो पहिलो हास्यव्यङ्ग्य कविता संग्रह हो । भ्रष्ट शासकहरुका भनाई एकातिर गराई अर्को रहेको कारण सुशासन नागिँदै गएको र हरेक क्षेत्रमा भ्रष्टाचार झागिँदै गएको छ । यस संग्रहमा पौडेलले राजनीतिकर्मी, नेतागण र मन्त्री महोदयप्रति तीव्र आक्रोश प्रकट गर्दै पुस्तकको नाम नै “मन्त्री पुराण” राख्नु भएको छ । हाम्रा मन्त्रीज्यू सक्षम नेता हुनुहुन्छ भन्नेन कविता मार्फत कवि भन्नु हुन्छः–
“…त्यसैले हाम्रा मन्त्रीज्यू
नेपालीका भाग्यदाता हुनुहुन्छ
नेपालका विधाता हुनुहुन्छ
उहाँ मन्त्री पदमा नभए
यो देश चल्दैन
यो देशमा विकास हुँदैन
उहाँ नभए प्रजातन्त्र रहँदैन…”
अतीतलाई फर्केर हेर्दा–२०५६
हास्यव्यङ्ग्यकार पौडेलको यो दोस्रो कृति हो । यस कविता संग्रहमा वि.स. २०२५ सालदेखि २०४५ सालसम्म लेखिएका कविताहरु समावेश भएको कविले उल्लेख गर्नुभएको छ । प्रस्तुत संग्रहमा ४१ वटा कविताहरु रहेका छन् । मान्छे हुन नसकेको मान्छे, नारीका मर्म, दाइजो, चुनावको चर्चा, काला व्यापारी, विदेशी सहायता, जातीय छुवाछुत जस्ता समाजमा व्याप्तु रहेका वेथिति र विकृतीहरुलाई कविले आफ्ना सिर्जनाहरुद्वारा उजागर गर्नु भएको छ । जागीर कविता मार्फत जागीरेहरुको अवस्थालाई कविले यसरी चित्रण भएको छः–
काहीँ दश दिनमा जागीरेले बोनस पाउँछन्
काहीँ दश दिनसम्म जागीरे पोटुका कस्छन्
विवश निमुखा कर्मचारीको हाल बेहाल छ
घूसखोरहरुलाई भने जागीर मालामाल छ
बुढो गोरुले ओगटेको गाई–२०५६
पौडेलको यो तेस्रो कृति हो । यसलाई कविले व्यङ्ग्य शास्त्र भनेर नामाकरण गर्नु भएको छ । यो शास्त्र पनि व्यङ्ग्यको चोटिलो अस्त्रको रुपमा देखिएको छ । अशक्त शरीर भएको आफैं हिँड्न नसक्ने अरुले दाम्लो समातेर डो¥याउनु पर्ने उमेरैले असी पुग्न लागेर खसी परिसकेको त्यस्तो बुढो गोरुले गाई ओगटेको छ । त्यसको त्यस्तो कुमति देख्दा कोही हाँस्छन्, कोही टाउको निहु¥याउँछन् तर पनि त्यो गोरुलाई केही फरक पर्दैन किन कि उसँग नैतिकतानै छैन भन्दै बुढेसकालमा शारीरिक र मानसिक शक्ति क्षीण भइसक्दा पनि कुर्सी ओगटेर बस्ने प्रायःजसो राजनीतिक क्षेत्रमा देखापरेको कुर्सी लिप्सुहरुलाई कविले बुढो गोरुले ओगटेको गाईको संज्ञा दिँदै खरो रुपमा दरो व्यङ्ग्य गर्नु भएको छ । उहाँ अगाडि भन्नु हुन्छः–
…त्यो नामर्द गोरुले
रजाई गरेको छ
मान मर्यादा र
प्रतिष्ठा पनि
त्यसैले पाएको छ
सम्मानको हकदार पनि
त्यही नै भएको छ
त्यो भ्रष्टाचारी र दुराचारीले
आफूलाई बिर्सेर
सत्ताको सुविधा र
सम्पत्तिको स्वाद
चाखिरहेको छ…
देवका पनि देव भ्रष्टेश्वर महादेव–२०५८
काव्यकारले यो चौथो कृतिलाई पाल्सी महाकाव्य भन्नु भएको छ । वरिष्ट हास्यव्यङ्ग्यकार आदरणीय चट्याङ मास्टर (कृष्णमुरारी गौतम) ले आफ्नो भूमिकामा पुस्तकको समग्र सारलाई खिचेर मौरीको घार झैं अक्षरको सुन्दर बार लगाउनु भएको छ । सो भन्दा बढी भ्रष्टेश्वर महादेवप्रति धार लगाउन सक्ने मसँग कुनै औजार नहुँदा उहाँकै सारबाट केही अंश साभार गर्न चाहान्छु :–
“गणेशजी आज्ञा गर्नुहुन्छबाट शुरु हुन्छ यो कथाको व्यथा । पढ्दैजाँदा व्यथा चर्कदै जान्छ निरन्तर । भाग, पाठ, खण्ड, अनुच्छेद आदि कहीँ बिसाउने ठाउँ छैन । किनभने शुरु भएर सकिने कुनै व्यथाको यहाँ नाउँ छैन । माफियतन्त्र, तस्करी, भ्रष्टाचार, दमन, अन्याय, पाखण्ड, लुच्याफईँ आदि आदि निरन्तर । निरन्तर चल्दै जान्छ एउटै कविता सबै समेट्दै । तपाई हाम्रो जीवनका अनेक विडम्बनाको एउटा निरन्तर जस्तै ।
व्यवस्थापिका, कार्यपालिका अनि न्यायपालिका, पहिलेका हुन् या यसपालिका, सबै उत्तिकै योग्य पात्र छन् कविका प्रशंसनीय गालीका । कविका कुण्ठाका मुण्टाहरु हरेक पानाले पाएको छ । यस्तो लाग्छ, कविको दृष्टि देशको इतिहास र वर्तमानको हरेक छानामा छाएको छ । नटुङ्गिएर पनि टुङ्गिएको छ यो महाकाव्य २०५८ सालको राजदरबार हत्यकाण्डको हल्लासम्म पुगेर । छक्क लाग्छ, कसरी थाहा पाए कविले यतिविधि कुरा भोगेर, देखेर वा सुँघेर ? मैले त धेरै थाहा पाएँ यो किताप पढेरँ भन्नु भएको छ ।
प्रतिनिधिसभा स्तोत्रम्–२०६१
पाँचौं कृतिका रुपमा प्रकाशित प्रतिनिधिसभा स्तोत्रम् भित्र २०१ वटा व्यङ्ग्य सुक्तिहरु समेटिएका छन् । यस स्तोत्रमा नेताहरुमा विकसित हुँदै गएको अशोभनीय गतिविधिहरु, सम्पत्ति थुपार्ने होडबाजी, सत्तालिप्साको म्याराथनका कारण निर्धा नेपालीहरु भोग्नु परेको दुःख, दर्द र पीडालाई उजागर गरिएको पाइन्छ । संसद भवन जनताको भलो गर्ने कार्यमा संचालित हुनु पर्नेमा कमाउने, रमाउने, हैकम जमाउने थलो बन्दै गएकोमा तीव्र रोस प्रकट गर्दै उहाँ भन्नु हुन्छः–
डाङ्डुङ् गरी बारुद र बन्दुक पड्काई
विरोधी जति सखाप पार्न सकौं सबैलाई
देऊ आशीर्वाद प्रभु सत्तापति मलाई
गर्नेछु पूजापाठ तिम्रो म सधैं रमाई ।
गोरु महापुराण–२०६३
हास्यव्यङ्ग्य महाकाव्यको रुपमा प्रकाशित छैठौं संग्रह गोरु महापुरणभित्र अस्तव्यस्त रहेको नेपालको राजनीतिप्रति तिखो व्यङ्ग्य गरिएको छ । व्याप्तम विकृति, बेथिति र बिसंगतिका कारण दुखी नेपालीका मनमा बितृष्णा छाएको, सुशासन र समृद्धि भ्रष्टहरुको भाषणमा मात्र आएको, सत्ताभोगी एवम् अवसर लुटन सिपालु गोरुहरुको रजाई नहटेसम्म देश र जनताले मुक्ति पाउन नसक्ने तितो तथ्यलाई पुराणको शैलीमा भैली खेलिएको छः–
आफूलाई सधै बसाहा र साँढे
सम्झने गोरु
अगाडि परेका मान्छेलाई
हान्दै हिँड्ने गोरु
आफ्नो कर्तव्य
हलो जोत्न बिर्सेको गोरु
त्यसैगरी
गाडा तान्ने पनि छोडेको तँ गोरु
सधै पाठीगाईको पछि लाग्ने
मति बिग्रेर
अगति परेको तँ गोरु
सबैको नजरबाट जताततै
तँ गिरेको गोरु
थुक्कर गोरु
तेरो के कुरा गर्नु गोरु…
सुँगुरको महिमा–२०६७
सातौ कृति सुँगुरको महिमाभित्र पनि पौडेलका अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरुले जस्तै नेपाली समाजमा मौलाएको बिकृति र बेथितिलाई उदाङ्गो पारेको छ । मुलुक हाक्ने जिम्मा लिएर बसेका नेता भनाउँदाहरुको आनीबानीलाई सुँगुरको व्यवहारसँग तुलना गर्दै उछितो काडिएको छ । र सत्ताका रोगी त्यस्ता सुँगुरहरुलाई नहटाएसम्म देशमा समृद्धि नआउने र जनताले मुक्ति नपाउने तथ्यलाई चोटिलो प्रहार गरिएको छः–
जटिलतामा नागरिक रुमल्लिराका छन् ।
सर्वहारालाई राहतको नारा मात्रा लारुका छन् ।।
भविष्य र उनको बदल्नेमा मौन बस्या छ ।
जताततै कुशासनचक्र चल्या चल्यै छ ।।
अप्ठ्याकरामा जनताहरु उभिनुपर्या छ ।
व्यवसाय गर्नेहरुको अवस्था रुग्ण छ ।।
सुँगुरहरुको होटलमा तारे जुवारी चल्दछ ।
जनाताको भने पसिना र खुनको भेल बग्या छ ।।
छ सय एकको क्रिया गरौं– २०६९
प्रस्तुत आठौं कृतिलाई कविले खण्डकाव्यको संज्ञा दिनु भएको छ । जनताको मतबाट चुनिएर राष्ट्र चलाउने ठेक्का लिएका जनप्रतिनिधिहरुले जनताको जनजिवनप्रति कुनै हेक्का नराख्नेजहरु अपराधी, नरसहांरी, दैत्य, देशघाती, जनद्रोही, नमक हराम, लाचारी, घिचुवा, कुरस्वार्थी जिउँदो लाश हुन् । त्यस्ताको जीउँदैमा किरिया गरे पनि केही फरक पर्दैन भन्दै पौडेलले आफ्नो आक्रोशलाई यसरी व्यक्त गर्नु भएको छः–
तेहि देशघाती हो
आफूलाई सर्वमान्य ठान्नेह
बजारमा लुटपाट मचाँउने
मानवताको पहिचान हराएको
आफैमा बिचलन भएको
आफ्नो ग्याङ्को सरदार बनेको
गाऊँ बस्तीलाई जटिल मोडमा धकेलेको…
तँ को होस् ? हामीलाई नै संविधान बनाएन भन्ने ? –२०७१
संविधान बनाउन भनेर गएका जनप्रतिनिधिहरुले समयमा संविधान नबनाएपछि आक्रोश पैदा हुनु स्वभाविकै हो । त्यहि आक्रोशलाई व्यङ्ग्य कारले प्रस्तुत संग्रहमा पोख्नु भएको छः–
वर्षौदेखि छलफल चलाएकै छौं
वर्षौदेखि बैठक बसेकै छौं
हामीहरु छ सय एक जना छँदैछौं
जनताको रगत पसिना चुसेकै छौं
हामीले पाँच तारे होटलमा बसेर
ढ्याउ गर्दै डकारेर
छलफलमा हामी जुटेको बेला
हामी नमक हरामलाई फेरि
तँ को होस् हामीलाई नै
संविधान बनाएन भन्नेन ?
आयो महाभूकम्प–२०७२
मुलुकमा सधै राजनीतिक अस्तव्यस्तता छाएको, जनतामा निराशा आएको, जताततै स्वार्थ र गुटबन्दी कराएको, मानवता हराएको, लुटमारले चारैतिर हाहाकार मच्चाउँदै दीन दुखीलाई तर्साएको बेला प्रकृतिसमेत बौलाएर झन पीडा बर्साएको हुँदा महाभूकम्पबाट मानवीय जीवनमा आइपरेको पीडालाई कथ्य बनाएर कविले आफ्नो मनोभावनाहरु प्रस्तुत संग्रहमा अभिव्यक्त गर्नु भएको पाइन्छः–
एम्बुलेन्सको साइरन बजिरहेछ
प्रहरीको भ्यान दौडी रहेछ
स्थिति भय वह रुपको छ
सेनाको गाडीहरु कुदिरहेको
धरहरा हेर्दा हेर्दै लडेको छ
आकाश सुन्य देखिएको छ
खुल्ला मञ्च भरिएको छ
टुडिखेलमा मान्छेको भीड छ
तर
देश हासुन्जे ल बनकर दिकदार थियो
त्यो बिनासकारी महाभूकम्प आयो
देश रोएको बेला बनकर रमायो ।
मुडकटा–२०७३
पौडेलको पछिल्लो हास्यव्यङ्ग्य सम्बन्धी एघारौं कृति हो मुडकटा महाकाव्य । शासक र राज्यका हस्तीहरुलाई सुशासन र समृद्धिका लागि हरेक तरहबाट अनुनय विनय गर्दा पनि कुनै सुनुवाई हुँदैन । देश र जनताका अवस्थाहरु दिन प्रतिदिन गिर्दो छ । शासक र तिनका मतियारहरुको अवस्था भने फिर्दो छ । अनेकौं अनुरोध गर्दा पनि सुधारका कुनै लक्षण देखाउँदैन । कानमा तेल हालेर बस्छन् । आफ्नै स्वार्थतिर मात्र पस्छन् । त्यस्ता अनियमित धन्दाको गन्दा र फन्दामा लिप्तहरुलाई जति भन्दा पनि तिनका मति नफिरेपछि त्यस्ता महासयलाई मुडकटाको संज्ञा दिँदै कवि भन्नुहुन्छः–
जसको टाउको नभै शरीरको गिँडमात्र छ
त्यस्ता मुडकटालाई यहाँ के मतलब
त्यो प्रेत वा पिचास हो भनी सर्वत्र चिनिएकै छ
अरु सबै बरवाद भए त्यस्तालाई के मतलब
यसरी जनस्वास्थ्य सेवामा लामो अवधी क्रियाशील डा. गणेशकुमार पौडेलले हास्यव्यङ्ग्य क्षेत्रमा आफ्नो छुट्टै विशिष्ट पहिचान बनाउनु भयो । माथि उल्लेख गरिएका हास्यव्यङ्ग्य सम्बन्धी कृतिहरुका अतिरिक्त उहाँको स्वास्थ्य एवम् यात्रा संस्मरण सम्बन्धी निम्न कृतिहरु समेत प्रकाशित भएका छन् ।
पौडेलका अन्य प्रकाशित कृतिहरु
१. गर्भान्तर– (स्वास्थ्य सम्बन्धी संग्रह) (कृतिका हिसावले पहिलो हो)
२. प्रजनन् प्रणाली– (स्वास्थ्य सम्बन्धी संग्रह) २०५४
३. किशोर किशोरी–(स्वास्थ्य सम्बन्धी संग्रह) २०५४
४. बंगलादेशको सफर–(यात्रा संस्मरण) २०५७
५. परिश्रमी पाखुरी– (स्वास्थ्य सम्बन्धी संग्रह)
६. सामुदायिक प्रजनन् विज्ञान– (स्वास्थ्य सम्बन्धी संग्रह) २०५७
७. आइ.यु.डी.– (स्वास्थ्य संग्रह) २०६१
८. वार्ता– (गीतिकाव्य) २०६२
९. सुरक्षित गर्भपतन– (स्वास्थ्य संग्रह) २०६६
१०. जनसंख्या शिक्षा– (स्वास्थ्य संग्रह) २०७१
११. शरीर रचना विज्ञान र योग– (स्वास्थ्य संग्रह)
१२. युरोपको पाँच मुलुक– (यात्रा संस्मरण) २०७२
१३. रुपचन्द्र– (स्मृति संग्रह) २०७३
१४. तिजको रहर आयो बरिलै– (गीति संग्रह)
१५. अमेरिका यात्रा– (यात्रा संस्मरण)
१६. शास्त्रभित्रका उपयोगी वाणीहरु– (आध्यात्मिक संग्रह) २०७४
१७. यौन महाकाव्य–(महाकाव्य) २०७४
१८. आमाको खोजी– (लघुकथा संग्रह) २०७६
(यसका अतिरिक्त विभिन्न पत्रपत्रिकाहरुमा अनगिन्ती फुटकर रचनाहरु प्रकाशित)
पौडेलसँगको सामिप्यता एवम् चिनजान
सिस्नुपानी नेपाल २०५५ सालमा विधिवतरुपमा दर्ता भएपछि मकवानपुर शाखाले समेत संस्थागत रुपमा हास्यव्यङ्ग्य सम्बन्धी कार्यक्रमहरु प्रस्तुत गर्दै आएको हो । आफूलाई समेत हास्यव्यङ्ग्यामा रुची भएको कारण कार्यक्रम सुन्ने र सुनाउने सन्दर्भमा गणेशकुमार पौडेलसँग करिब २०५५÷५६ सालदेखि चिनजान भएको हो । सिस्नुपानी नेपाल मकवानपुर शाखाका संस्थापक अध्यक्ष रामचन्द्र आचार्य “फूर्सती“ एवम् आरसि रिजालपछि गणेशकुमार पौडेलले २०६५ फाल्गुन १७ गतेदेखि २०७८ असोज ७ सम्म करिब १२ वर्ष संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो । उहाँको कार्यकालमा सिस्नुपानी नेपाल मकवानपुर शाखाले हास्यव्यङ्ग्य सम्बन्धी कार्यक्रमहरु प्रस्तुत गर्दै समाजका विविध क्षेत्रमा देखिएका विकृति, विसंगति र बेथितिहरुलाई उजार गर्ने काम भएको हो ।
पौडेलले मकवानपुरे साहित्यको उन्नयनका लागि धेरै पुरस्कारहरु स्थापना गर्नु भएको छ । साथै धेरै साहित्यिक संघ संस्थाहरुबाट उहाँ सम्मानित समेत हुनु भएको छ । काभ्रेको बनेपाबाट मासिक रुपमा प्रकाशित हुने जनमत साहित्यिक पत्रिकाको केन्द्रीय सदस्यसमेत रहनु भएका पौडेल पछिल्लो पटक २०७७८ चैत्र ३० गते जिएस निकेतन माविद्वारा वरिष्ठ हास्यव्यङ्ग्य कार भैरव अर्यालको स्मृतिमा स्थापना गरिएको ज्ञानदीप हास्यव्यङ्ग्य सम्मान २०७८ बाट सम्मानित हुनु भएको थियो ।
पछिल्लो चरणको पौडेलको शारीरिक अवस्थाः–
केहि वर्षदेखि उहाँ क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । भारतको मेदान्त अस्पतालबाट उपचार गराई आउनु भएको थियो । खानपिनमा अत्यन्त मुख बार्ने र सबैलाई उर्जा र उत्साह दिँदै मैले क्यान्सर रोग पचाई सकेँ भनेर अन्तिम अवस्थासम्म पनि उहाँ सिर्जना सुनाउनमा सक्रिय हुनुहुन्थ्यो । २०७८ बैशाख १९ गते सिस्नुपानी दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा “खाउँ ल्याप्प लुप्प पारेर खाउँ” भन्ने अत्यन्त चोटिलो व्यङ्ग्य भजन प्रस्तुत गर्नु भएको थियो । सायद उहाँले सार्वजनिक रुपमा सबैलाई सुनाउनु भएको व्यङ्ग्यात्मक भजन त्यहि अन्तिम हो कि जस्तो लाग्दछ ।
यसरी हास्यव्यङ्ग्य क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएका हास्यव्यङ्ग्यकार सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष डा. गणेशकुमार पौडेल अचानक हामी माझबाट मिति २०७९।३।७ गते अस्ताउनु भयो । उहाँलाई गुमाउनु पर्दा सिंगो साहित्य जगत एवम् सिस्नुपानी नेपाल मकवानपुर परिवार स्तब्ध भएको छ । डा. गणेशकुमार पौडेलको भौतिक शरीर हामी माझ नरहे पनि उहाँका सिर्जनाहरु साहित्यको फाँटमा झुलिरहने छन् । संसारभर डुलिरहने छन् । सबैको हृदय छुने सुन्दर सिर्जनाका कारण पौडेल अमर श्रष्टा बनेर नेपाली साहित्यमा युगयुगसम्म बाँचिरहने छन् । इति
(लेखक सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)