हेटौंडाः मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको भीड बढी भएसँगै व्यवस्थापनमा समस्या भएको छ । दैनिक २ सय भन्दा बढीको नाम दर्ता गराउन नसक्ने हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयले स्पष्ट पारेको छ भने सेवाग्राहीको संख्या ५ सय भन्दा बढी रहेको छ । असार १ गतेबाट निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरेको हो ।
नागरिकको चाप बढी भएपछि सबै नागरिकको सहजरुपमा नाम दर्ता गर्न, गराउन स्थानीय प्रशासनले आवश्यक सहयोग गर्न सक्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले बताउनुभएको छ । निर्वाचन आयोग आफैं एउटा संवैधानिक निकाय भएकोले स्थानीय प्रशासनले आफैं केही गर्न नसक्ने तर आयोगको आवश्यकताअनुसार स्थानीय प्रशासनले सहयोग र सहजीकरण गरिदिने प्रजिअ पाण्डेको भनाइ छ । मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य सुरु गर्नुअघि असार १ गते सर्वदलीय बैठक राखी के कसरी सहजीकरण गर्न सकिन्छ भनी छलफल भएको थियो ।
प्रजिअ पाण्डेले आयोगले माग गरे आवश्यक जनशक्ति काजमा भए पनि व्यवस्थापन गरेर पठाउन सकिने स्पष्ट पार्नुभएको छ । सेवाग्राहीको सहजताका लागि आवश्यक सहजीकरण गर्न प्रशासन तयार रहेको उहाँले बताउनुभएको छ । अहिले २ वटा स्टेशन बनाएर फोटो खिच्ने र विवरण भर्ने कार्य भइरहेको छ भने सेवाग्राहीको सहजताका लागि फोटो खिच्ने र विवरण भर्ने स्टेशन थप गरेर सहज बनाउन सकिने प्रजिअ पाण्डेको भनाइ छ ।
यता प्रदेश निर्वाचन आयोगको कार्यालयका प्रमुख लुम्बध्वज पोखरेलले भने जनशक्ति र उपकरणको अभावमा २ सय भन्दा बढीलाई सेवा दिन नसकिने स्पष्ट पार्नुभएको छ । सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली लागु गरेको जानकारी गराउनुहुँदै सम्भव भएसम्म प्रयास गरिरहेको पोखरेलको भनाइ छ ।











