Home मुख्य समाचार मकवानपुरका प्रजिअ पाण्डे भन्नुहुन्छ, ‘मतदाता नामावलीमा नाम दर्ता गराउन आवश्यक जनशक्ति व्यवस्थापनमा...

मकवानपुरका प्रजिअ पाण्डे भन्नुहुन्छ, ‘मतदाता नामावलीमा नाम दर्ता गराउन आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग गर्न सक्छौं ।’

मतदाता नामावलीमा नाम दर्ता गराउन आएका नागरिकको भीड । प्रजिअ भरतमणि पाण्डे (इन्सेकमा) ।

हेटौंडाः मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको भीड बढी भएसँगै व्यवस्थापनमा समस्या भएको छ । दैनिक २ सय भन्दा बढीको नाम दर्ता गराउन नसक्ने हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयले स्पष्ट पारेको छ भने सेवाग्राहीको संख्या ५ सय भन्दा बढी रहेको छ । असार १ गतेबाट निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरेको हो ।

नागरिकको चाप बढी भएपछि सबै नागरिकको सहजरुपमा नाम दर्ता गर्न, गराउन स्थानीय प्रशासनले आवश्यक सहयोग गर्न सक्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले बताउनुभएको छ । निर्वाचन आयोग आफैं एउटा संवैधानिक निकाय भएकोले स्थानीय प्रशासनले आफैं केही गर्न नसक्ने तर आयोगको आवश्यकताअनुसार स्थानीय प्रशासनले सहयोग र सहजीकरण गरिदिने प्रजिअ पाण्डेको भनाइ छ । मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य सुरु गर्नुअघि असार १ गते सर्वदलीय बैठक राखी के कसरी सहजीकरण गर्न सकिन्छ भनी छलफल भएको थियो ।

प्रजिअ पाण्डेले आयोगले माग गरे आवश्यक जनशक्ति काजमा भए पनि व्यवस्थापन गरेर पठाउन सकिने स्पष्ट पार्नुभएको छ । सेवाग्राहीको सहजताका लागि आवश्यक सहजीकरण गर्न प्रशासन तयार रहेको उहाँले बताउनुभएको छ । अहिले २ वटा स्टेशन बनाएर फोटो खिच्ने र विवरण भर्ने कार्य भइरहेको छ भने सेवाग्राहीको सहजताका लागि फोटो खिच्ने र विवरण भर्ने स्टेशन थप गरेर सहज बनाउन सकिने प्रजिअ पाण्डेको भनाइ छ ।

यता प्रदेश निर्वाचन आयोगको कार्यालयका प्रमुख लुम्बध्वज पोखरेलले भने जनशक्ति र उपकरणको अभावमा २ सय भन्दा बढीलाई सेवा दिन नसकिने स्पष्ट पार्नुभएको छ । सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली लागु गरेको जानकारी गराउनुहुँदै सम्भव भएसम्म प्रयास गरिरहेको पोखरेलको भनाइ छ ।

Exit mobile version