कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको भीड ।

हेटौंडाः हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको घुइँचो लागेको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको चापअनुसार कार्यालयले जनशक्ति व्यवस्थापन गर्न नसक्दा नागरिकले भने दुख व्यहोर्नुपरेको छ ।

हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन बिहानै लामवद्ध नागरिक ।

सोमबार बिहान कार्यालय सुरु हुनुअघि नै ४ सय भन्दा बढी नागरिक निर्वाचन कार्यालयबाहिर लामवद्ध थिए । निर्वाचन आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले १ सय ५० वटा कुपन वितरण गर्दै गर्दा २ सय ५० भन्दा बढी संख्यामा सर्वसाधारण कुपन पनि नपाएर अलमलमा थिए ।

प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले जनशक्ति र स्रोतसाधनको अभावमा दैनिक २ सय भन्दा बढीको नामावली दर्ता गराउन नसकिने स्पष्ट पार्नुभएको छ ।