अन्तरक्रियामा सहभागी नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्षहरु । तस्वीरः बिनोद बानियाँ/समृद्ध समाज ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुसँग खेलकर्मीहरुको अन्तरक्रिया भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएको हो ।

अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले सम्पूर्ण खेल क्षेत्रलाई समेट्ने गरी काम गर्ने बताउनुभयो । आफु खेलकै माध्यममा जोडिएर आएको बताउनुहुँदै नगर प्रमुख लामाले सबै विधाको खेलको बारेमा आफु जानकार रहेको बताउनुभयो । उहाँले सम्पूर्ण विधाका खेलहरुको क्यालेन्डर बनाउनुपर्ने बताउनुभयो । उहाँले हेटौंडा उपमहानगरपालिकाले विभिन्न विधाका खेलका लागि ३ देखि ४ जनासम्म प्रशिक्षक व्यवस्था गर्ने बताउनुभयो । नगर प्रमुख लामाले हेटौंडामा जिल्ला खेलकुद विकास समिति, नगर खेलकुद विकास र वडाहरुसँग समन्वय गरी हेटौंडामा व्यवस्थित रंंगशाला निर्माण गरिने बताउनुभयो । हेटौंडा–४ स्थित हुप्रचौरमा फ्लडलाईटको व्यवस्था गरिने नगर प्रमुख लामाले बताउनुभयो ।

यस्तै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले समग्र क्षेत्रको परिचय दिन सक्ने क्षेत्र खेलकुद रहेको बताउनुभयो । खेलकुदबाट व्यक्तिको नामका साथै राष्ट्रको पहिचान दिन सक्ने उहाँको भनाई छ । उहाँले विगतदेखि खेल क्षेत्रमा स्थानीय सरकार नजिक रहेर काम गरिरहेको बताउनुभयो । उहाँले स्थानीय तहले खेल क्षेत्रमा लगानी बढाउँँदै आएको बताउनुहुँदै खेलाडी उत्पादन गर्न सक्नुपर्ने बताउनुभयो । विभिन्न प्रतियोगिताहरु सञ्चालन हुँदा यहाँको खेलाडीले खेल्नबाट बञ्चित हुन दिन नहुने बताउनुभयो । उहाँले समग्र खेल क्षेत्रको विकास हुने गरी उपमहानगरपालिकाले बजेट विनियोजन गर्ने बताउनुभयो ।

अन्तरक्रियामा प्रशिक्षक माधव कोइरालाले जिल्लामा स्थानीय सरकारको लगानीमा खेलकुद प्रतियोगिता हुने तर बाहिरका खेलाडीहरु ल्याउँदा यहाँका खेलाडीहरु खेल्नबाट बञ्चित हुनुपरेको बताउनुभयो । मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले हेटौंडामा क्रिकेटका लागि एउटा पनि व्यवस्थित मैदान नभएको बताउनुभयो । अहिले क्रिकेट खेलाडीहरु हुप्रचौरमा प्रशिक्षण गरिरहेको त्यो क्रिकेट खेल्नका लागि व्यवस्थित नभएको बताउनुभयो । उहाँले हेटौंडामा पनि प्रतियोगिता सञ्चालन गर्न सक्ने क्रिकेट मैदानको निर्माण गर्नुपर्ने बताउनुभयो । मकवानपुर जिल्ला जुडो संघका अध्यक्ष सविन मोक्तानले खेलकुदको नाममा सधैं फुटबलमा मात्र ध्यान दिइएको बताउनुभयो । मकवानपुरमा पनि जुडोका खेलाडी उत्पादन भइरहेको बताउनुहुँदै लामाले जुडोका लागि व्यवस्थित भवन बनाई काम गर्नुपर्ने बताउनुभयो ।

भलिबल खेलको पूर्व राष्ट्रिय खेलाडी चुँडाकुमारी खड्काले आफुले भलिबलको राष्ट्रिय टिममा खेलेको १५ वर्ष भइसक्दा पनि यहाँको भलिबलको क्षेत्रमा अझै चासो नदेखाएको बताउनुभयो । आफू नेपाल प्रहरीमा कार्यरत भई भलिबल खेल्न सम्भव भएको र भलिबल मात्र खेल्नेहरु भने टिक्न नसकिरहेको उहाँले बताउनुभयो । खेलसँगै खेलाडीहरुलाई स्थानीय तहहरुले क्षमता अनुसार रोजगारीमा अग्रसर गर्न सक्यो भने खेलाडी टिक्न सक्ने उहाँको भनाई छ । महिला फुटबल खेलाडी कमला रुम्बाले अहिले आफु हटियाबाट फुटबल प्रशिक्षणका लागि हुप्रचौरसम्म आउनुपरेको बताउनुभयो । हटियामा फुटबल प्रशिक्षणका लागि व्यवस्थित मैदान र प्रशिक्षक नहुँदा आफु हुप्रचौरसम्म आउनु परेको रुम्बाले बताउनुभयो । विद्यार्थी भएकोले फुटबल प्रशिक्षण गर्नका लागि टाढासम्म आउनुपरेकाले नियमित प्रशिक्षणमा सहभागी हुन नसकेको बताउनुभयो । अन्तरक्रियामा उपमहानगरका वडाध्यक्षहरु, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरु, खेलकुदकर्मीहरुको सहभागिता रहेको थियो ।