देवराज तिवारी, अध्यक्ष, गजल मञ्च मकवानपुर

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यून गर्न देशमा जारी लक डाउनले मानिसकलाई आफ्नै जीवन, परिवार, समाज र देश र संसारलाई नै बुझ्न बाध्य बनाएको छ । कोरोना भाइरस मानवीय व्यवहारकै एउटा प्रत्यूपादन हो भन्ने आशयमा यो जोखिमलाई मानव समाजकै भविष्यसँग जोडेर अनेकौं विश्लेषण भइरहेको छ । लक डाउनको समयलाई साहित्यकारहरुले कोरोना भाइरसमै आधारित भई साहित्य सृजनामा पनि प्रेरित गरिरहेको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीले लक डाउनको समयमा उब्जिएका प्रश्नहरुलाई “लक डाउनको प्रश्न जिन्दगीसँग” शीर्षक कवितामा उतार्नु भएको छ ।

लक डाउनको प्रश्न जिन्दगीसँग

केवल जिन्दगी
पर्खाइ त रहेछ समयको
अनुभूति त रहेछ जीवनको
सधैँ सधैँ हतार हुने
सधैँ सधैँ अभिमान पस्कने
कहिल्यै फुर्सद ननिस्कने
स्थिर पनि त हुँदो रहेछ जिन्दगी यतिविधि
परिवारलाई नियाल्ने समय
केटाकेटीको चकचक बिर्सेका अभिभावकलाई
अभिभावकको गनगन बिर्सेका सन्तानलाई
एक एक सम्झनलायक बनाइदिएको छ
अलिकति जिम्मेवार बनाएको छ
यदाकदा विचलित पनि बनाएको छ
क्वारेन्टाइनले
पूरै लकडाउनले ।

यतिबेला
भयावह स्थितिबाट गुज्रिरहेछ देश
सब चौपट पारेर कुदिरहेछ अदृश्य वस्तु
छुन नसकिने हुँदा पनि आक्रामक भएर
संहार गर्न आतुर भए जस्तै
सर्वशक्तिमान बन्न चतुर भए जस्तै
कसैको चङ्गुलमा परिरहेछ संसार
निकै अकासिएपछि गल्र्याम्म झरिरहेछ विश्व
सिकाउन भ्यायो कि भ्याएन
चेतना पलायो कि पलाएन
जिन्दगी हतारका लागि होइन
जिन्दगी त जिन्दगीका लागि रहेछ ।

कतै एकताको सन्देश
कतै पारिवारिक एकाकीपन
कतै परदेशीप्रति वितृष्णा
कतै मलामीको अभाव
कतै डाक्टरमा आएको जिम्मेवारी विचलन
कतै छिमेकी धर्मको पनि अपचलन
एकाग्रतामा समग्रता
र, समग्रतामा एकाग्रता
समाजले सिकाएको पो सामूहिक बँचाइ हो र
परिवारले सिकाएको पो पारिवारिक बँचाइ हो र
जिन्दगीले सिकाएको त एक्लै बाँच्न रहेछ ।

जिन्दगी परीक्षामा छ जिन्दगीको
अणुले त परीक्षा लिएकै थियो
अदृश्य पनि त्यही तयारीमा छ
शक्ति भन्दा पनि शक्तशालीको
हुर्मत लिइरहेछ
विनाशलाई निम्तो पठाउँछ सायद
अनियन्त्रित विकासले
यो दुनियाँ अनेक चलखेलहरूको भागबन्डा हो
यस्तो पनि नहोस् कि
विश्वशक्तिको खोजमा विश्व नै थुनिएको होस् ।

हामीले
सधैँ बिर्सेर जीवनको जीन
सधैँ लत्याएर जिन्दगीको पाठ
हतारिएछौँ नदीको गतिमा
शिक्षक हुन
लेखक हुन
कवि बन्न
डाक्टर बन्न
इन्जिनियर बन्न
पाइलट हुन
नेता हुन
कलाकार हुन
नायक हुन
व्यापारी हुन
तर कहिल्यै सोचेनछौँ
जिन्दगीलाई जिन्दगी दिने
किसान हुन
र जीवनलाई जीवन सिकाउने मानिस बन्न ।