हेटौंडाः चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार काठमाडौंको चर्च ब्वाईज क्लब विजयी भएको छ । बीएफसी चितवनलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाईजले जित हासिल गरेको हो । चर्च ब्वाईजले क्वार्टर फाइलनमा विदेशी एभिनियर एफसीको सामना गर्नेछ ।
चर्च ब्वाईजका लागि हेमन्त राना मगरले एक गोल गर्दा आशिष चौधरीले दुई गोल गरे । चर्च ब्वाईजका आशिष चौधरी म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार सर्लाहीको बागमती युवा क्लबलाई पराजित गर्दै बाराको नव जनजागृति युवा क्लबले विजयी सुरुवात गरेको थियो ।
१२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ । मकवानपुरका स्थानीय तहहरु मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कूल अफ म्यानेजेमन्टले बुलेट बाइक प्रयोजन गरेको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लब मनाङ मस्याङ्दी, खुमलटार युवा क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल, फ्रेण्ड्स क्लबसहित हेटौंडाको एफसी विजय युथ, बागमती युवा क्लब, नव जनजागृति युवा क्लब, बीएफसी चितवन र चर्चव्वाईज क्लबको सहभागिता रहँदा अन्तर्राष्ट्रिय टिमको रुपमा क्यामरुनको एनिनियर एफसीको पनि सहभागिता रहनेछ । करिब १ करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्दा म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछ ।