हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाका विद्यालयहरुले नयाँ शैक्षिकसत्रमा भर्ना हुन आएका विद्यार्थीको स्वागतमा शुक्रबार साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । थाहा नगरपालिकाले बार्षिक शैक्षिक क्यालेण्डरमै साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने तय गरेको थियो ।
शैक्षिक क्यालेण्डरअनुसार शुक्रबार पालिकाका ५३ वटै विद्यालयमा साँस्कृतिक कार्यक्रम गरेर विद्यार्थीलाई स्वागत गर्ने तय भएको थाहा नगरपालिका–६, बज्रबाराहीस्थित बज्रबाराही माविका प्रधानाध्यापक रमेशमान डंगोलले जानकारी दिनुभयो । प्रधानाध्यापक डंगोलका अनुसार सबै विद्यालयहरुमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने योजनाअनुसार नै बज्रबाराही माविमा शुक्रबार साँस्कृतिक कार्यक्रम गरिएको छ ।
बज्रबाराही माविका विद्यार्थीले नृत्य, गायन कला प्रस्तुत गरेर नयाँ विद्यार्थीलाई स्वागत गरेका छन् । बज्रबाराही माविमा ४५ जना नयाँ विद्यार्थी भर्ना भएको प्रधानाध्यापक डंगोलले जानकारीी दिनुभयो । साँस्कृतिक कार्यक्रममा कक्षा ७ मा अध्ययनरत सविन बलामी र कुशल बलामीले गीत गाएका थिए भने रितिका अधिकारी, प्रमिला थापा मगर, डेबिना बलामी, सुपेक्षा श्रेष्ठ, गरिना आले मगर, प्रविणा महर्जन र सकिरा बलामीले नृत्य प्रस्तुत गरेका थिए । मौलिक भेषभुषामा सजिएर विद्यार्थीले नृत्य कला प्रस्तुत गरेका थिए ।
साँस्कृतिक कार्यक्रमसँगै विद्यालयले छात्रा छात्रवृत्ति तथा दलित छात्रवृत्ति रकम पनि वितरण गरेको छ । प्रधानाध्यापक डंगोलका अनुसार ८ कक्षासम्मका छात्रा छात्रवृत्ति ९० जनालाई वितरण गरेको छ भने दलित छात्रवृत्ति १३ जनालाई प्रदान गरिएको छ । यस्तै ऋषि कुमारी तथा विष्णुकुमारी स्मृति छात्रवृत्ति एसईईमा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थी सुजन घलान र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतीजा ल्याउने विद्यार्थी प्रयङ्का गोपालीलाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
स्व. कृष्णबहादुर सिंह ठकुरीले आफ्नी श्रीमतिको स्मृतिमा २०७२ सालमा १ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्नुभएको थियो । शुक्रबार नै कृष्णबहादुरका नाती श्यामराजा सिंह ठकुरीले छात्रवृत्ति कोषमा २५ हजार रुपैयाँ रकम सहयोग गर्नुभएको छ । आगामी बर्षदेखि कक्षा ८ मा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिने प्रधानाध्यापक डंगोलले जानकारी दिनुभयो । €१२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ४ सय ५० विद्यार्थी अध्ययनरत छन् ।