हेटौंडाः ४ सय २२ किलो गाँजासहित एउटा मिनिट्रक र लागूऔषध वनरेक्स ३३ बोतलसहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ साढे ८ बजेको समयमा मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले थाहा–३ बायोखोलाबाट ना ६ ख ३२४३ नम्बरको मिनीट्रकबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डाँडाबास–पालुङ सडकखण्डको बायोखोलामा रोकिराखेको मिनिट्रकमा १४ वटा बोरामा २८ प्याकेटमा गाँजा फेला पारेको प्रहरीले लागुऔषध तस्करीमा संलग्नलाई भने पक्राउ गर्न नसकेको जनाएको छ ।

यस्तै सोमबार बिहान साढे ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१, स्वर्गलोकमा डेरा गरी बस्ने रामकृष्ण लोको कोठाबाट ३३ बोतल लागुऔषध वनरेक्स बरामद गरेको छ । मकवानपुरगढी–४ घर भई हाल हेटौंडा–१ स्वर्गलोकमा डेरा गरी बस्ने ३९ बर्षीय लोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।