रमेशप्रसाद लामिछाने
शिक्षक सेवा आयोगले २०७८ चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको प्रारम्भिक परीक्षाको नतिजा २०७९ वैशाख १९ गते साँझ प्रकाशन गरे पश्चात उक्त नतिजाले उजागर गरेको सन्देशबारे चर्चा गर्न आयोगकै सूचनाको आधारमा नतिजा पनि यस आलेखमा उल्लेख गर्नु सान्दर्भिक हुने महसुस गरिएको छ ।
नतिजा तालिका

उल्लेखित तालिकाअनुसार १४ वटा विषयमा १ हजार ५ सय ५२ पदका लागि ३५ हजार ५ सय ५७ आवेदक भएकोमा ३२ हजार ९७ जना मात्र परीक्षामा सहभागी भएको आयोगको सूचनामा जनाइएको छ । आवेदन दिएका मध्ये ३ हजार ४ सय ६० जना परीक्षामा अनुपस्थित भनेको ९ दशमलव ७३ प्रतिशतले परीक्षा छाडेको देखिन्छ । परीक्षा नदिनेहरु सबै उक्त अवधिमा रोजगार भएर वा असमर्थ भएकै मात्र कारणले परीक्षा छाडेको भन्न सकिन्न । झण्डै १० प्रतिशत परीक्षार्थीले परीक्षा छाडेका कारणहरु खोतलेर विश्लेषण गर्ने जिम्मा पनि विज्ञहरुलाई नै दिएको हुन सक्छ ।
आयोगकै सूचनाअनुसार ५ वटा प्रदेशमा ४ वटा विषयका सबै उम्मेदवार फेल भएका छन् । प्रदेश नं. १ का संस्कृत विषयका, मधेश प्रदेशका स्वास्थ्य शिक्षा विषयका परीक्षार्थीहरु, वागमती प्रदेशका व्याकरण विषयका, लुम्बिनी प्रदेशका संस्कृत साहित्य विषयका र सुदूरपश्चिम प्रदेशका पनि संस्कृत विषयका कुनैपनि परीक्षार्थीहरु उत्तीर्ण नभएको भनिएको छ । यद्यपि यी विषयहरुमा माग पद पनि एक वा दुई मात्र रहेको र आवेदक संख्या पनि अति कम भएको उल्लेख गरिएकोे छ ।
माथिको तालिकाबाट सबैभन्दा बढि प्रदेश नं. १ मा ४ सय १० जना माग गरिएको र सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय ७ जनामात्र माग गरिएको देखिन्छ । त्यस्तै दोश्रो कम मधेश प्रदेशमा १ सय ११ पद देखिनु अस्वभाविक लाग्नु अन्यथा होईन । जबकि सुदूरपश्चिममा समेत १ सय १७ जना माग गरिएको छ । दोश्रोमा सबैभन्दा बढि वागमती प्रदेशमा ३ सय २८ हुनु र तेश्रो बढि गण्डकी प्रदेशमा ३ सय २१ जना अनि लुम्विनी प्रदेशमा १ सय ५८ माग पद हुनुले आवश्यकताको सम्वोधन गरेको छ भन्न कठिन परेको छ । यो संख्याले माग पदहरुको सही तथ्याङ्कमा पर्याप्त शंकाको ढोका खुल्ला गरेको छ ।
सबैभन्दा बढी माग पद ४ सय १० वटा देखेर नै होला सायद प्रदेश नं. १ मा बढि परीक्षार्थी ८ हजार ७१ जना र त्यही आधारमा क्रमशः गण्डकी, वागमती, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कर्णाली प्रदेशमा आवेदकहरुको आकर्षण भएको हुन सक्छ । यहाँ पनि थोरै विश्लेषण गर्ने हो भने सुदूरपश्चिममा १ सय १७ वटा पदका लागि ३ हजार ४ सय ८७ जना परीक्षार्थी र मधेशमा १ सय ११ माग पदमा २ हजार १५ जना मात्र परीक्षार्थी सहभागी हुनु निश्चय नै स्वभाविक भन्न सकिन्न ।
यो प्रारम्भिक परीक्षाको नतिजा हो भनेर शुरुआतमै भनिसकिएको छ । यो परीक्षा उत्तीर्ण गर्नेहरु दोश्रो चरणको महत्वपूर्ण परीक्षामा सहभागी बन्नेछन् । दोश्रो चरणको परीक्षाबाट पनि उत्तीर्ण हुनेहरुमात्र अन्तरवार्ता अर्थात मौखिक तथा प्रयोगात्मक परीक्षामा पुग्नेछन् । तुलनात्मक रुपमा यो चरण सहज देखिए पनि निर्णायक भने यहि नबन्ला भन्न सकिन्न । प्रदेश १ मा ८ हजार ७१ जना मध्ये ९ सय ८८ जना अर्थात १२ दशमलव २४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । ती ९ सय ८८ जना मध्ये माग पद संख्या ४ सय १० जना अर्थात ४१ दशमलव ४९ प्रतिशतबाट नै मौखिक तथा प्रयोगात्मक परीक्षाका लागि छनौट हुनेछन् । त्यस्तै मधेश प्रदेश, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत यही उदाहरणबाट पुग्ने संख्याको आँकलन गर्न सकिन्छ ।
उक्त नतिजाबाट सबैभन्दा बढी वागमती प्रदेशमा १४ दशमलव ३३ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ५ दशमलव ९६ प्रतिशत अनि समग्रमा सातै प्रदेशको औसतमा १२ दशमलव ११ प्रतिशत नतिजाले भने गम्भीर सन्देश उजागर गरेको छ । यो नतिजाले शैक्षिक वृत्तमा अनेक तर्क बितर्कहरु जन्माएको स्पष्ट छ । शिक्षक बन्नेहरुकै स्तर यो तहको छ भने विद्यार्थीहरुको शैक्षिकस्तर कस्तो हुने भनेर अनुमान गर्ने भन्नेहरु पनि मिडियामा आइसके । शिक्षा स्तरीय बन्न त पहिले शिक्षक स्तरीय हुनैपर्छ भन्नेहरु बिगतदेखि नै शिक्षकप्रति सकारात्मक नदेखिएकै हो । स्तरीय शिक्षाको सान्दर्भिक परिभाषा खोज्नेहरु पनि नभएका होइनन् । शिक्षा स्तरीय बन्ने वा हुने मापदण्डका शिर्षकहरुमा पर्याप्त बहस भएको पाइँदैन । बेलाबखतमा उठ्ने झिनो आवाजहरुले उल्लेख्य भूमिका निर्वाह गरेका छैनन् भन्नै पर्दछ । शिक्षकसँगै विद्यार्थी र अभिभावक पनि गम्भीर र स्तरीय बन्ने हो भने मात्र शिक्षा स्तरीय बन्न सक्छ । यसो भन्दै गर्दा शिक्षा प्रशासनको पदीय भूमिका जिम्मेवारीपूर्ण र सरकारको शिक्षा प्रतिको सकारात्मक दृष्टिकोणले शिक्षा व्यवस्थामा अपेक्षित उपलब्धि हुने तथ्यमा कतै बिमति छैन ।
विद्यालय शिक्षालाई कक्षा १२ सम्म भनिए पनि आम विद्यार्थी तथा अभिभावक मात्र नभई शिक्षित विज्ञहरु पनि अझै एसएलसी भन्दै एसईई आईरन गेट भन्नेहरु धेरै छन् । यसै धरातलबाट कक्षा १० अर्थात एसईई उत्तीर्ण पश्चात विद्यार्थीहरु सबैभन्दा पहिले डाक्टर बन्ने, त्यो नसके ईन्जिनियर बन्ने, त्यो पनि नसके कृषि तथा वन पढ्ने, अझै नभ्याए कमर्श अर्थात वाणिज्य विषय रोज्ने, त्यो पनि भएन भने मानविकी अन्तर्गतका विषयहरु खोज्ने र यी कतै पनि नसकिएको अवस्थामा शिक्षा विषय भए पनि भर्ना भएर कक्षा त बढाउनै पर्यो भन्नेहरुबाट हामी शिक्षामा स्तरीयता खोजिरहेका छौं ।
यो कोणबाट हेर्दा शिक्षा विषय अध्ययन गर्नेहरु अन्यत्र कुनै विषयमा भर्ना नपाएर वा सबैभन्दा कमजोर ग्रेडको शैक्षिकस्तर भएकै कारणले शिक्षा विषय रोज्नु बाध्यता भएको धेरैले स्विकार गरेका छन् । यस पृष्ठभूमिबाट आएका परीक्षार्थीहरुबाट आयोगको परीक्षामा सफलताको अपेक्षा नै गलत हो भनेर विज्ञहरुबाट बारम्बार आक्षेप लागेकै हो । यसो भनिरहँदा दक्ष, योग्य, क्षमतावान र लगनशील परीक्षार्थीहरुको स्वाभिमानमा ठेस पुर्याउने मनसाय पटक्कै होईन । तै पनि सत्य अलि तितै हुन्छ भन्ने भनाइ बिर्सन मिल्दैन । अर्कोतर्फ कक्षा १२ सकेर रोजगारीका लागि बिदेश जाने योजना त माध्यमिक शिक्षाको पहिलो पाईलामा नै योजना बनिसकेको विद्यार्थीहरु सहजै जवाफ दिन्छन् । उल्लेखित सबै तर्कहरु बहस र चर्चाका लागि यहाँ उजागर गरिएका हुन् । शैक्षिक स्तरीयता आजको प्रमुख सवाल हो । शिक्षक बन्न खोज्ने परीक्षार्थीहरु मात्र नभई विद्यार्थीहरुको शैक्षिक स्तरबाट आज तमाम शिक्षाका विज्ञहरु चिन्तित भएको तथ्य सहजै देख्न सकिन्छ । यस भित्रका कारणहरुको निदान र उपचार वर्तमानको आवश्यकता भन्नै पर्दछ ।










