हेटौंडाः आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेवारले मकवानपुरका व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार साँझ गठबन्धनबाट हेटौंडाको मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका तर्फबाट मीना कुमारी र नेपाली काङ्ग्रेसबाट उपमेयर पदका उम्मेदवार राजेश बानियाँले व्यवसायीसँग अन्तरक्रिया गर्नुभएको हो ।
नेपाल लोकतान्त्रिक व्यापार संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन र नेपाल राष्ट्रिय उद्योग व्यवसायी संघको आयोजनामा भएको अन्तरक्रियालाई सम्बोधन गर्नुहुुँदै मेयर पदका उम्मेदवार मीना कुमारी लामाले हेटौंडालाई नमुना प्रदेश राजधानी बनाउने बताउनुभयो । लामाले आफु हेटौंंडाको मेयर पदमा निर्वाचित भएमा उद्योग व्यवसायको हकहितका लागि काम गर्ने बताउनुभयो । उद्योगी व्यवसायीहरुको हकहितका लागि काम गर्ने र राजस्व उल्लेख्य वृद्धि गर्ने उहाँले बताउनुभयो । उद्योग क्षेत्र र सबै क्षेत्रको विकास गरी हेटौंंडा उपमहानगरपालिकालाई महानगरपालिका बनाउन आफु लाग्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । राज्यको अर्थतन्त्रमा उद्योग व्यवसायी क्षेत्रको महत्व रहने भन्दै यस क्षेत्रको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै उपमेयर पदका उम्मेदवार राजेश बानियाँ आफु पनि उद्योग वाणिज्य संंघमा काम गरिसकेको बताउनुहुँदै व्यवसायीको समस्या आफुले सजिलै बुझ्ने र बुझेको बताउनुभयो । उहाँले २०७४ मा निर्वाचित स्थानीय सरकारले व्यवसायीसँगको सम्बन्ध टुटाएको आरोप लगाउनुभयो । उहाँले हेटौंडाको २५ मिटर सडक बनाउन घर भत्काउन नपर्नेगरी गबन्धन सरकारले राप्तिबाट वाइपासको लागि बजेटको व्यवस्था गरेको बताउनुभयो । बानियाँले हेटौंडामा गठबन्धनले नजितेमा व्यवसायीको समस्या कहिल्यै समाधान नहुने जिकिर गर्नुभयो ।
यस्तै नेपाली लोकतान्त्रिक व्यापार संघका उपाध्यक्ष अजिव भट्टराईले अहिलेको स्थानीय सरकारले उद्योगी व्यवसायीको हकहितका लागि केही कार्य गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले यसपालि उद्योगी व्यवसायीको कुरालाई सम्बोधन गर्ने स्थानीय सरकार आउनुपर्ने बताउनुभयो । नेपाली लोकतान्त्रिक व्यापार संघ मकवानपुरका अध्यक्ष काव्यमणि अधिकारीको सभाध्यतामा भएको अन्तरक्रियामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय स्थायी कमिटी सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्य रहेको थियो । अन्तरक्रियामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रमिला पुलामी, नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ, काङ्ग्रेसका राष्ट्रिय कलाकारहरु भुवन केसी, नीर शाह, माओवादीका कलाकार चेतन सापकोटा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता (अग्रवाल) लगायत व्यवसायीको उपस्थिति रहेको थियो ।










