क्रिकेट प्रतिभा छनोटका लागि आएको ग्रेट हिमालयन क्रिकेट एकेडेमीका पदाधिकारी तथा प्रशिक्षकसँग मकवानपुरका खेलाडी, क्रिकेट पदाधिकारी तथा प्रशिक्षकको समूह ।

हेटौंडाः क्रिकेट प्रतिभाको खोजी गर्दै काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमी हेटौंडा आइपुगेको छ । मंगलबार बिहान हेटौंडाको हुप्रचौरमा एकेडेमीका श्रीलंकन प्रशिक्षक मिहिराज वासान्था जयाशंकराले मकवानपुरका ४० जना खेलाडीको प्रारम्भिक कौशल हेरेर केही खेलाडीलाई छनोट समेत गरेका छन् । एकेडेमीका श्रीलंकन प्रशिक्षक श्रीलंकाको महिला राष्ट्रिय टिमको प्रशिक्षक समेत रहीसक्नु भएको छ । एकेडेमीले छनोट भएका खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।

ग्रेट हिमालयन क्रिकेट एकेडेमी व्यावसायिक खेलाडी उत्पादन गर्ने निजी क्षेत्रको एकेडेमी हो । एकेडेमीका उत्पादन राष्ट्रिय टिममा समेत सहभागी छन् । पूर्व झापादेखि सुरु गरेको प्रतिभा खोजीको अभियानमा ग्रेट हिमालयनले विराटनगर, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सापछि मकवानपुरका खेलाडीको खेल कौशल हेरेको हो ।

खेलाडीलाई प्रशिक्षणात्मक अभिमुखीकरण गनुृहुँदै श्रीलंकन प्रशिक्षक ।

छनोट भएका खेलाडीलाई काठमाडौंस्थित एकेडेमीमा आवासीय सुविधासहित प्रशिक्षणको व्यवस्था मिलाउने ग्रेट हिमालयन क्रिकेट एकेडेमीका व्यवस्थापक सुदीप शर्माले जानकारी दिनुभएको छ । क्रिकेट खेलका लागि मकवानपुर जिल्ला उर्वर मानिन्छ । मंगलबार बिहान हुप्रचौरमा यु–१४ समूहका १० जना, १४–१६ बर्ष उमेर समूहका १० जना, १९ बर्ष उमेर समूहका १० जना र सिनियर १० जना खेलाडीको सहभागिता रहेको मकवानपुर जिल्ला क्रिकेट संघका कार्यवाहक सचिव विनोद बानियाँले जानकारी दिनुभयो ।

प्रतिभा प्रस्तुत गर्ने क्रममा व्याटिङ गर्दै एक किशोर खेलाडी (बायाँ), बलिङ गर्दै अर्का किशोर खेलाडी (दायाँ) ।

श्रीलंकन प्रशिक्षकले करिब ३ घण्टा मकवानपुरे क्रिकेटरको बलिङ, व्याटिङ कौशल हेर्नुका साथै बलिङ, व्याटिङ तथा क्रिकेट खेलसम्बन्धी प्रशिक्षणात्मक प्रस्तुती समेत गर्नुभएको थियो । मंगलबार बिहानको कार्यक्रममा मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ, बागमती प्रदेश समितिका उपाध्यक्ष प्रेम क्षेत्री, मकवानपुर जिल्लाका प्रशिक्षक रविन गुरुङको पनि उपस्थिति रहेको थियो । मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले स्थानीय तहको निर्वाचनपछि ग्रेट हिमालयन क्रिकेट एकेडेमीका श्रीलंकन प्रशिक्षकलाई हेटौंडा बोलाएर २ देखि ३ दिनको प्रशिक्षण समेत सञ्चालन गर्ने बताउनुभएको छ ।