हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले निजी विद्यालयलाई नयाँ शैक्षिक सत्र २०७९ मा शैक्षिक सत्र २०७८ कै शूल्क लिन निर्देशन दिएको छ । निजी विद्यालयहरुले प्रस्ताव गरेको शिक्षण शूल्कका बारेमा आवश्यक निर्णय गर्न नगर कार्यपालिकाको बैठक बस्न सक्ने अवस्था नभएकोले साविककै शूल्क लिन उपमहानगरपालिकाले निर्देशन दिएको हो ।

उपमहानगरपालिकाले साविककै शूल्क लिन निर्देशन दिए पनि निजी विद्यालयहरुले नयाँ शूल्क निर्धारण गरेर भर्ना सुरु गरिसकेका छन् । साविककै शूल्क लिन विद्यालयलाई निर्देशन दिए पनि शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले भने अनुगमनका लागि कर्मचारी नभएको बताउनुभएको छ । कर्मचारी अभावकै कारण अनुगमन गर्न सकिन्न भन्ने विषयले अभिभावकलाई भने चिन्ता बढाउने भएको छ ।