विक्रम खतिवडा

विक्रम खतिवडा
स्थानीय तहको निर्वाचनको तयारीमा देश नै जुटेका बेला विभिन्न राजनीतिक दलहरुले सार्वजनिक गरेको घोषणापत्र हेर्दा लाग्छ चुनाव लगत्तै देशले काँचुली फेर्न तम्तैयार भएर बसेको छ । दलहरुले सार्वजनिक गरेको घोषणापत्र केवल कागजमै सीमित नबनोस् बरु ठुला–ठुला सपना देखाएर आम जनताको आस्थामाथि खेलवाड गर्न भन्दा आम जनताले महसुस गर्न सक्ने खालका सामान्य काम मात्रै पनि गर्न सकेमा आगामी दिनहरुमा विस्तारै विकासको काम हुँदै गर्ला । तर, यहाँ त घोषणापत्र र गफमा चैं भने आमुल परिवर्तनको कुुुरा मात्रै गर्ने काम चाहिँ अपेक्षाकृत कहिल्यै हुन सकेको छैन ।

कुनै पनि काम अझैं भनूँ विकासका काममा विभिन्न राजनीतिक दलगत स्वार्थकै कारण समेत अघि बढ्ने नसकेका आम जनताका सामु घाम झैं छर्लङ्ग नै छ । आगामी दिनमा यस्ता खालका क्रियाकलापहरु बन्द गरेर जो कसैको पनि दिगो विकासको योजनालाई स्विकार गरी तीव्र विकास गर्दै निकट भविष्यमा नै निर्वाचित हुनुहुने तपाई सम्पूर्ण जनप्रतिनिधिहरुले आफ्नो महानता देखाउँदै अघि बढ्नु हुनेछ भन्ने अपेक्षा आम नेपाली जनताले लिएका छन् ।

लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दै गरेका हामी आम जनताप्रति कति उत्तरदायी छौं ? राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, सरकार लगायत सबैले एकपटक सोँच्नै पर्ने बेला आएको छ । आम राजनीतिक दल र तिनका प्रतिनिधिहरुले समेत निर्वाचन लक्षित मात्रै भन्दा पनि सदैव आम नागरिकप्रति जवाफदेहि हुन सके भने चुनावी परिणाम जे आए पनि आम नेपाली जनताको मन–मनमा बस्न सफल भई आगामी चुनावका लागि समेत आधार निर्माण हुँदै जाने तथ्यलाई कसैले पनि भुल्न हुन्न ।

देशकै राजधानी जस्तो सहरमा धमाधम विकास निर्माणको काम हुनु आफैंमा राम्रो कुरा हो तर विकास निर्माणका काम चल्दै गर्दा आम जनताको मर्म, भावना र सुविधा समेतलाई ध्यान पु¥याउने कुरामा पनि विचार गर्न आवश्यक देखिन्छ । जस्तै, केहि दिन पहिले म आफैं साँझपख अचानक राजधानी काठमाडौंबाट हेटौंडा जानुपर्ने भयो र मैले कान्तिलोकपथको बाटो हुँदै हेटौंडा जने निर्णय गरेँ । म सातदोबाटो हुँदै चापागाउँतर्फ लाग्दै थिए साँझ झमकै पर्दै थियो । सुनाकोठी नजिकै म पुग्दा बाटोमाबाँस तेस्र्याएर बाटो बन्द छ लेखिएको थियो । साँझ झमकै भैसकेकाले के गर्ने मैले सोँच्नै सकिन अनि मेरा पछि–पछि आउँदै गरेका मोटरबाईकहरु मुलबाटो छाडेर देब्रे पटिको गल्लीको बाटो हुँदै अघि बढ्न थाले । म पनि पछि–पछि लाग्दै गएँ । तर, मसँग कार भएकाले त्यति सहज चाहिँ भएन बाटो साँघुरो थियो ।

म पुरै अलमलमा परे जताजता बाटो छ उतै–उतै म अघि बढ्दै गरेँ । फर्कने सुविधा मसँग थिएन गाडी घुमाउने ठाउँ छैन अगाडि कहाँ कुन चोक वा गल्लीमा निस्कने हो त्यो पनि थाहा छैन अनि सोचे म झण्डै २ घण्टा जति घुमिसकेपछि बल्ल सुमेरु हस्पिटल नजिकै निस्केँ त्यो बीचमा म कुनै चोकमा घुम्दै घुम्दै ३, ४ पटकसम्म पनि पुगेको थिएँ । त्यहाँ निस्केपछि बल्ल लामो सास फेरेँ अनि सोँच्न थालेँ । त्यहाँ पनि त स्थायी राजनीतिकर्मी, समाजसेवी, बौद्धिक वर्ग पनि त थिए होलान् । के तिनले एउटा सानो बोर्डमा मूलबाटो बन्द भएकाले सहायक बाटाहरुको सामान्य रेखाङ्कन गरेर राख्न के तिनको दायित्व हुँदैन थियो ? वा सम्बन्धित ठेकेदार वा सडक विभाग समेतलाई यो राख्न पर्छ है भनेर पहल गर्न सक्ने थिएन ? के सडक विभाग वा ठेकेदार कम्पनिले चाहि आम नागरिकप्रति उत्तरदायी बन्नु नपर्ने हो ? यो त एक उदाहरण मात्र हो ।

राजधानी जस्तो सहरमा त यि र यस्तै समस्याले दैनिक नागरिकले दुख पाइरहने हो भने घोषणापत्रमा भनेझैं विकास र समृद्धि आम जनताले कहिले देख्न र भोग्न पाउने ? राजधानी जस्तो सहरमा बस्ने आम सर्वसाधारण नागरिकको साथामा १० रुपैयाँ छैन भने पिसाब फेर्न पाउँदैन । २० रुपैयाँ साथमा नहुँदा पानीको प्यास मेटाउन पाउँदैन । यहाँ सार्वजनिक यातायातमा सहजै यात्रा गरी समयमा नै गन्तव्यसम्म पुग्नु निकै ठूलो चुनौति हो । माथि उल्लेखित सेवा सुविधा आम जनताले सहजै पाउन थाले भने त मोनो रेल र मेट्रो रेलको सपना देख्दै गरौंला । थोता मुखभरी दाँत हाल्दै गरौंला । स्मार्ट सिटि र स्विजरल्याण्ड जस्तै विकासको कल्पना गर्दै गरौंला ।