हेटौंडाः स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरबाट जनशक्ति परिचालन गर्दा शिक्षकलाई समावेश नगरेको भन्दै नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगरपालिका कमिटीले ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचनमा निजामति कर्मचारी मात्र संलग्न गराएको प्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

स्थानीय तहको निर्वाचन निर्देशिकामा सामुदायिक विद्यालयका शिक्षक पनि रहेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो । नेपालको संविधान २०७२ को प्रस्तावनामा सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा सबै पक्षको सहभागितालाई जोड दिने उल्लेख छ । कानुनी प्रावधानलाई समेत वास्ता नगरी कानुन कार्यान्वयन गर्ने निकायबाटै एकातर्फी र एकपक्षीय ढंगबाट निर्वाचन सम्पन्न गर्ने तयारी भएको महासंघको आरोप छ ।

निर्वाचनमा कुनै पनि रुपमा शिक्षक तथा कर्मचारी सहभागिता नगराइनु भनेको निर्वाचन कार्यालयको पक्षपाती कार्य रहेको महासंघको ठहर छ । सेवाको प्रकृति फरक भएपनि जिम्मेवारीको हिसाबले सबै समान रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । शिक्षक कर्मचारीले अवसर वा जिम्मेवारी प्राप्त गर्ने सिलसिलामा हुने गरेको असमानताप्रति पूर्ण असहमत हुँदै आगामी दिनमा एकपक्षीय ढंगबाट कार्य विभाजन नगर्न आग्रह गर्दै महासंघले प्रेस विज्ञप्ती जारी गरेको हो ।