हेटौंडाः नेपाली कांग्रेसका नेता शंकर न्यौपानेले मनहरी गाउँपालिकाको अध्यक्षमा दिनुभएको उम्मेदवारी फिर्ता लिनुभएको छ । पार्टीभित्रको आन्तरिक टकरावका बीच नेपाली कांग्रेस (बीपी) बाट उम्मेदवारी दिनु भएका न्यौपानेले शुक्रबार पार्टीका नेताहरुसँगको सहमतिमा उम्मेदवारी फिर्ता लिनुभएको हो ।
सत्तारुढ गठबन्धन दलबीच मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पद पाउने भागबण्डाअनुसार अध्यक्षमा रञ्जन कालाखेती र उपाध्यक्षमा रेखा मगरको उम्मेदवारी दर्ता भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षका प्रत्यासी न्यौपाने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीसँग पराजित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा पराजित भएपनि निरन्तर पालिकामा राजनीतिक सक्रियता देखाउनुभएका न्यौपानेले पार्टीले अवसर नदिएको भन्दै नेपाली कांग्रेस (वीपी) बाट उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
न्यौपानेसँगै नेपाली कांग्रेस (वीपी) बाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएकी जानुकी लामाले भने उम्मेदवारी फिर्ता भएन । कांग्रेसबाट बागी उम्मेदवार देखिएपछि गठबन्धन दलकै नेकपा माओवादी केन्द्रको तर्फबाट पनि अध्यक्षमा रामप्रसाद कालाखेतीले पनि उम्मेदवारी दर्ता गराउनुभएको थियो । कालाखेतीको पनि उम्मेदवारी भने फिर्ता हुन सकेन । गठबन्धन दलबीच आपसमा आशंका र असन्तोषका बीच बागी उम्मेदवारी कायम रहँदा गठबन्धनको योजनाअनुसार मतदान हुनेमा भने आशंका बढेको छ ।










