मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनको लागि मकवानपुर जिल्लामा तयारी तीब्र रुपमा भईरहेको छ । जिल्लाभित्र १० वटा स्थानीय तहमा जम्मा एक सय ६५ वटा मतदानस्थल रहनेछ । यस्तै, जिल्लामा ३ सय ५६ वटा मतदान केन्द्रहरु कायम भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार प्रेस नोट जारी गरी जानकारी दिएको छ ।

सुरक्षाको दृष्टिकोणले १ सय ६५ वटा मतदानस्थलमध्ये १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका विशेष सुरक्षा योजना अनुसार काम गरिरहेको छ । गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको छ । विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशतभन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरुको निरीक्षण प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुबाट भएको छ । यस्तै, बाँकी मतदानस्थल तथा मतदानकेन्द्रहरुको निरीक्षण भइरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु चैत मसान्तसम्म प्रहरी इकाईमा बुझ्ने कार्य भइरहेको छ ।

यस्तै, निर्वाचन लक्षित जिल्लामा १ हजार ४ सय ७३ जना म्यादी प्रहरी छनौट गरी सोमबारबाट तालिम प्रारम्भ गरिएको छ । यसका साथै स्थानीय तहको निर्वाचनका समयमा जिल्लाभित्रका विभिन्न मतदानस्थल र मतदानकेन्द्रहरुमा खटिने कर्मचारीहरुको विवरण तयारीको कार्य समेत भइरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।