हेटौंडाः अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिता बिषयमा सोमबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा नेत्रहिन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधार भण्डारीले अपाङ्गता भएकाहरुलाई पनि समान अवसर दिनुपर्ने धारणा राख्नुभएको छ ।

समृद्ध समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिलाई अवसर दिनुपर्ने उहाँले बताउनुभयो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउनुपर्ने उहाँको भनाई छ । अपाङ्गता भएको व्यक्तिको क्षमता जाँच गर्न शिक्षा, स्वास्थ्य, रोजगारमा अवसर दिनुपर्ने उँहाले बताउनुभयो । निर्वाचनमा अपाङ्गता भएको व्यक्तिले निर्वाचन अधिकृत वा सहायक अधिकृतको रुपमा काम गर्न सक्ने उँहाले स्पष्ट पार्नुभयो । बागमति प्रदेशलाई नमूना प्रदेश बनाउन मतदान केन्द्रलाई अपाङ्गतामैत्री भौतिक संरचना बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

सोमबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा बागमति प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा बागमति प्रदेश नेत्रहिन युवा संघ नेपालका इन्चार्ज लक्ष्मीश्वर महत्तोको सभाध्यक्षता रहेको थियो । यस्तै, कार्यक्रममा प्रेदेश निर्वाचन अधिकृत लुम्ब नाथ पोखरेलले स्थानिय तह निर्वाचनमा अपाङ्गता भएको व्यक्तिहरु लाईन बस्न नपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । यस्तै, प्रदेश सासंद मुनु सिग्देलले वर्तमान समयमा महिलालाई गर्ने व्यवहारमा परिवर्तन आएको तर, अपाङ्गता भएको व्यक्तिलाई गर्ने व्यवहार परिवर्तन नभएकोे दाबी गर्नुभयो । कुनै पनि सामुदायीक भवन निर्माण गर्दा अपांग मैत्री निर्माण गर्नुपर्ने उँहाले बताउनुभयो । यस्तै, बागमति प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले निर्वाचन सम्बन्धी आर्थिक भार नपर्ने गरी कानूनी र नितीगत रुपमा मन्त्रालयबाट सहयोग गर्ने बताउनुभयो । उहाँले अपाङ्गमैत्री सूचनालाई कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो ।