हेटौंडाः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भर्ना भई छनौट भएका म्यादी प्रहरीहरुको प्रशिक्षण आज सोमबारबाट सुरु भएको छ । प्रशिक्षणको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उद्घाटन गर्नुभयो ।

प्रशिक्षणमा म्यादीमा छनौट भएका १४ सय ७१ जना सहभागी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिनुभयो । प्रशिक्षण १० दिनसम्म चल्ने उहाँले बताउनुभयो । म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ३ हजार ७ सय जनाले आवेदन दिएका थिए ।

उद्घाटन कार्यक्रममा पुरानो गोरख गण, सुपारेटार व्यारेक हेटांैडाका प्रमुख सेनानी सुवास चन्द्र महत, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ, प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की, म्यादी प्रहरी भर्ना छनौट उपसमितिका पदाधिकारीको आतिथ्यता रहेको थियो ।