मकवानपुर अन्य गतिविधिका तुलनामा साहित्यिक गतिविधिमा निकै सक्रिय जिल्ला हो । स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका साहित्यिक कार्यक्रम गर्न सफल मकवानपुर आफैँ पनि साहित्यकार र प्रकाशित साहित्यिक कृतिका हिसाबले उर्वर भूमि हो । यसै उर्वर माटोमा साहित्यको खेति गर्नेहरु आफ्ना सफल कृतिहरु लिएर सबै माझ परिचित हुँदै आउनु भएको छ । यसै क्रममा आफ्नो कृति ‘मैले जिउन जानिनँ’ लिएर हामी माझ उपस्थित हुनुभएको छ, हाँस्यव्यङ्ग्य कवि मीनप्रसाद लामिछाने । विभिन्न साहित्यिक कार्यक्रमहरुमा सुनाउँदै आउनु भएका विविध फुटकर रचनाहरुको एकमुष्ठ सङ्गालो व्यङ्ग्य कविता सङ्ग्रह ‘मैले जिउन जानिनँ’ हालसालै बजारमा आएको पहिलो कविता सङ्ग्रह हो । लामा र छोटा गरी ४१ वटा फरक शीर्षकका कविता समेट्न कृति सफल भएको छ । सिस्नुपानी नेपालले प्रकाशनमा ल्याएको यस कृतिको व्यक्तिगत मूल्य रु २०० र संस्थागत मूल्य रु ३०० निर्धारण गरिएको छ ।
सिन्धुपाल्चोक जन्मस्थान भएका लामिछाने हाल हेटौंडाका स्थायी बासिन्दा हुनुहुन्छ । सिस्नुपानी नेपालमा आबद्घ भएर साहित्यिक कार्यक्रमहरुमा सक्रिय भएर लागिरहनु भएकै छ । अंग्रेजी भाषामा स्नात्तकोत्तर गर्नु भएका लामिछाने पेशाले शिक्षक हुनुहुन्छ । अध्ययनको विषय अँग्रेजी भए तापनि नेपाली भाषा र साहित्यका पारखी कवि लामिछाने नेपाली साहित्यको श्रीवृद्धिमा आफ्ना रचनामार्फत उत्तिकै योगदान पुर्याउँदै आउनु भएको छ ।
व्यङ्ग्य कवि लामिछाने लेखन शैलीका दृष्टिले समय सचेतक कवि हुनुुहुन्छ । समाजको उत्थान चाहने, बेथिती र भ्रष्टाचारको जरो निर्मूल पार्ने विद्रोही चेत भएका कवि हुनुहुन्छ । कवि लेख्नुहुन्छ देशको बागडोर सम्हाल्नेहरु हाम्रा आँखामा छारो हाल्दै छन् । राष्ट्रियताको ढ्वाङ फुकेर हाम्रो समर्थन खोज्दै छन्, केवल आफ्नो शासन लम्ब्याउन आफू राष्ट्रवादी भएको देखावटीपन गर्दै छन् । तर तिनै शासक जतिबेला उसको पदको समयावधि सकिन्छ अनि ऊ जनतालाई जनता देख्दैन आफ्नो दास ठान्छ । कवि हिजोका इतिहास सम्झनु हुन्छ जतिबेला हामी राष्ट्रनायक खोजिरहेका थियौँ आफूलाई चिसो भूइँमा सुताएर उनीहरुका लागि न्यानो सिरक ओढाएकै हो । अनिँदो आँखाले भोलिको सुखद् सपना देखेकै हो, काखको नानी छाडेर युद्धमा आमा होमिएकै हो, वृद्ध बाबुको मनको बाँध भत्काएर जवान छोराले बन्दुक बोकेको इतिहास हिजोको हो तर आज ऊ किन बिर्सिरहेछ खुन र पसिनाको मूल्य ? अनि खाडीमा यौवन बिताइरहेका नेपाली समाजको व्यथा ।
कविमा आक्रोशको भाव व्यग्र भएर उम्लिएको यसर्थ छ की देशको ढुकुटीमा हात हालेपछि उसले ताल्चा साँचोको महत्व बुझेन । छिमेकीको हातमा साँचो सुम्पिएर आफ्नो पहिचान बेच्यो, भाषा बेच्यो, अस्तित्व बेच्यो, सिमाना बेच्यो । बेच्न बाँकी केहि राखेन अनि ऊ स्वयम् बेचियो र छिमेकीकै जय गान गाउन थाल्यो । त्यसैले कवि यस्ता मानसिकतालाई धर्तीको बोझ मान्नुहुन्छ । कविभित्र देश दुखेको छ त्यसैले कवि समाजका निरीहहरुको भाषा बोल्नुहुन्छ । जसलाई समाजका मुखिया र महाशयहरुले सदियौँदेखि प्रताडित बनाइरहेका छन् । मुखियाकै छिमेकी भएर बसेकी फूलमाया नफक्रिँदै ओइलिन पुग्छे, फतिमा दाइजोका निहुँमा जलाएर मारिन्छे, एसिड आक्रमणमा परेकी सुन्दरी ऐना छेउ उभिने हिम्मत गर्दिनँ, अनि भैली खेल्न गएकी छोरी घर फर्कन्छे की फर्कन्न भन्ने द्विविधामा रहेको बाबुको पीडालाई मुखिया टुलु–टुलु हेरेर बस्छ ।
ऊ नसुने झैँ गर्छ, नदेखे झैँ गर्छ । सूर्यास्त पछिको सुरु हुने समय कसैको लागि जिजिबिषाको आधार बन्ने गर्छ भने कसैका लागि मोजमस्तीको समय बनेको छ । हरेक विधि र विधान सूर्यास्तपछि लेखिन्छ अनि जाल, झेल र कपटहरुको कुकृत्यले भरिएको औँठा छाप लगाएर रातारात सिमाना बेचिन्छ । यस्ता कुकृत्यले स्वाभिमान र सार्वभौमिकता नै धरापमा परिरहँदा समेत हाम्रा मुखियाहरु मौन भएको देख्दा कविको मनमा खिन्नता छाएको छ । यहि खिन्न मन मस्तिष्कलाई साहित्यमा डोर्याएर अनि कवि व्यङ्ग्य लेख्नुहुन्छ ।
धेरै वाद र सिद्धान्तहरुको परिवर्तन पश्चात पनि फुटेका पैतालाले काँचुली फेर्न नसकेको हविगत देखेर कवि व्यङ्ग्य लेख्नुहुन्छ । कसै गरे पनि सुखका दिन नआएपछि कवि भाग्यलाई दोष दिँदै लेख्नुहुन्छ म त नेपाली मेरो नामै काफी छ (पेज ५३-५४) । कविभित्रको क्रान्तिको आवाज बुलन्द भएर निस्किएको छ अब चुप लागेर बस्न नहुने र सशक्त भएर प्रतिवादमा उत्रिन आव्हान गरिएको छ । कविको भाव यसरी बोल्छ, परिवर्तनले पनि पैसा र पहूँचकै भाषा बुझ्छ
शक्ति र सामथ्र्यकै पछि कुद्छ,
तर देशका लागि रगत बगाउन सक्दैन,
र,जङ्गे पिल्लर पनि जोगाउन सक्दैन भने,
चुपलागेर बस्न सकिन्छ र कान्छा ? (परिवर्तन, ६१÷६२)
र कवि जनतालाई नेताको घरपालुवा कुकुर नबन्न अनुरोध गर्नुहुन्छ, नेतालाई भेडा गोठालो सम्झिनु हुन्छ । सानो भूगोलभित्र स्वतन्त्र भएर इन्द्रेणीको रङ्गमा रङ्गिन सबैलाई प्रेरित गर्नुहुन्छ । आफ्ना बाले भनेअनुसार जिउन नजान्दा आफूले दुःख पाएको कुरा सुनाउँदै छोरालाई वीर योद्धाको इतिहास पढ्ने हौसला दिनुहुन्छ ।
एउटै धारमा बगिरहेको कविताको शिलशिला यस कृतिभित्र भेट्टाउन सकिन्छ । नारी संवेगका भाव कतै–कतै भेटिए पनि नारीलाई निरीह पात्रको रुपमा उभ्याइएको छ, वीराङ्गनाको पाठ पढाएर शक्तिशाली बनाउन नसक्नु भैली खेल्न गएकी छोरीलाई कुस्ती खेल्न पनि सिकाएको भए सायद बाबुको पीडा कम पो हुन्थ्यो की भन्ने लागिरहेको छ । छोरालाई हिजोको इतिहास सुनाउने तर नयाँ इतिहास रच्न अभिप्रेरित नगर्ने, छिमेकी सधैँलाई चाहिन्छ भन्दैमा करेसा नै काटेर लैजदासम्म आँगन त बाँकी नै छ नि भन्दै छुच्चो नबन्न आग्रह गर्नुले कृतिको सवल पक्षमा खलल पुर्याएको छ ।
कवि समाजका दुरावस्थालाई केलाउन र देखाउन सिपालु हुनुहुन्छ । समग्र कृतिभित्र समाजको दयनीय अवस्था बोलेको छ तर पनि कवि समाजलाई अहिलेको स्तरबाट माथि उठाउने हिम्मत गर्न सक्नुहुन्न र भन्नुहुन्छ समाजमलाई खुट्टाले हान्छ अनि म समाजको खुट्टा तान्छु । यहाँ समाज र कविको सोचाइ उस्तै–उस्तै रहेको छ खुट्टा तान्ने र खुट्टा हान्ने प्रवृत्तिलाई परित्यक्त गर्न नसक्नु लेखनीको कमजोर पक्ष देखिन आएको छ । त्यसैले कवि भन्नु हुन्छ समाज समयको काया हो म समाजको छायाँ हुँ (म र मेरो समाज पेज ३६-३७) । आगामी दिनहरुमा कविको लेखनीमा यस्ता किसिमका कमजोरीहरु सुध्रिएर आउने आशा गर्दै कृतिको उच्च सफलताको कामना गर्दछु ।