हेटौंडाबाट केरुङतर्फ जाँदै साइकलयात्री टोली ।

हेटौंडाः हेटौंडाका १० जना साइकलयात्री उत्तरतर्फ चीनसँगको सीमा केरुङदेखि दक्षिण्तर्फ भारतको सीमानाका ठोरीसम्मको साइकल यात्रामा निस्केका छन् । हिमालयन राईडर्स सोसाईटीको संयोजकत्वमा आइतबारदेखि रसुवाको केरुङ नाकाबाट साइकल यात्रा सुरु गर्न लागिएको हो । सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यको संयोजकत्वमा १० जनाको टोली शनिबार केरुङतर्फ गएको छ ।

टोलीमा सोसाइटीका उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्य पनि सहभागी हुनुहुन्छ । त्यस्तै सोसाइटीका महासचिव एवम् ईन्जिनियर सागर पन्थी, सचिव राजु राना मगर, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सदस्यहरु बुद्धिबहादुर आले, बुद्धराम श्रेष्ठलगायत हुनुहुन्छ । यसैगरी शैलेश दुतराज पनि टोलीमा सहभागी हुनुहुन्छ । टोलीमा सिमराका ३ जना साइकल यात्री पनि सहभागी भएको संयोजक आचार्यले जानकारी दिनुभयो । बारा राइडर्स संघका कोषाध्यक्ष रामेश्वर बास्कोटा, सदस्य हरेराम आचार्य र रामहरि सुबेदी सहभागी हुनुहुन्छ ।

विश्वव्यापी तापमानको वृद्धि, पेट्रोलियम पदार्थको मूल्यबृद्धि, नेपालको चुलिँदो व्यापारघाटा, दैनिक उपभोग्य बस्तुमा तीव्र मिसावटका कारण बिग्रँदो जनस्वास्थ्य आदि कुरामा प्रत्यक्षवा परोक्ष प्रभाव पार्ने साईकललाई दैनिकी बनाउने अभियानका साथ साइकलयात्रा सुरु गर्न लागिएको टोलीका सदस्य भानुभक्त आचार्यले बताउनुभएको छ ।

आइतबार रसुवाको केरुङ नाकाबाट सुरु हुने साइकल यात्रा नुवाकोटको त्रिशुली, धादिङ, चितवनको नारायणगढबाट माडी हुँदै ठोरीसम्म गरिने भएको छ । टोली पर्साको ठोरीबाट बीरगन्ज हुँदै हेटौंडा फर्कने बताइएको छ । करिब ४ सय किलोमिटरको यात्रा ५ दिनमा पूरा गरिने टोलीले जानकारी दिएको छ । यसका लागि मकवानपुर उद्योग वाणिज्य संघले ५ वटै जिल्ला उद्योग वाणिज्य संघलाई समन्वयका लागि पत्राचार गरेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिनुभएको छ ।