सामाजिक मूल्य मान्यता र कानुनी बाध्यतालाई छल्दै हुने बालविवाहपछिको पीडाले महिलाहरुको ज्यानसमेत जाने गरेका धेरै घटना छन् । आफ्नै आँखा अगाडि भएका दुःखद् घटनाप्रति आँखा चिम्लिएर विवाहमा रमाउँदा ज्यानसमेत गएका धेरैं उदाहरण छन् । उमेर नपुगी विवाह गर्न हुँदैन भन्ने सामान्य जानकारी भएकाहरु पनि यस्ता कार्यमा अग्रसर हुनुका कारण पत्ता लगाई आवश्यक उपचारको प्रबन्ध गरिनु पर्दछ । किशोरावस्थामा हुने यौनप्रतिको तिब्र आकांक्षा, सामाजिक मूल्य मान्यता धान्नुपर्ने परम्परा र अभिभावकहरुको सोचाईले गर्दा उमेर नपुगेका किशोरीहरु विवाह बन्धनमा बाँधिने गरेका छन् । विवाह सामाजिक संस्था भए पनि त्यसलाई उचित मर्यादा नगर्दा हुने मानवीय क्षति डरलाग्दो हुने गर्दछ ।
मकवानपुर जिल्लामा २० वर्षभन्दा कम उमेरमा आमा बन्ने किशोरीहरुको संख्या उल्लेख्य भएको तथ्यांक छ । यस कुराले समाजमा शिक्षाको अवस्था प्रष्ट्याउँदछ । जिल्लाका विभिन्न पालिकामा चालु आर्थिक वर्षको हालसम्म ४ सय २९ जना किशोरीहरु आमा बनेका छन् । आधुनिक समाजमा यो तथ्यांकले नेपालीहरुको चिन्तन, शिक्षा र परम्पराप्रति औंला ठड्याउने अवस्था छ । सञ्चार माध्यमको विस्तार, सरकारी तथा गैरसरकारी संघसंस्थाको लगानी तथा समाजिक अगुवाहरुको भूमिकाप्रति आशंका बढाएको छ । शैक्षिक सुधार तथा सचेतनाको अभियान केबल कागजी घोडामा मात्र सिमित देखिएका छन् । तथ्य र तथ्यांकले हाम्रा काम र जिम्मेवारीप्रति पुनरावलोकन गर्नुको विकल्प छैन ।
मकवानपुर प्रदेशकै राजधानीमा त यस्तो अवस्था छ भने देशका दूरदराजको अवस्था अझै भयावह छ भन्न थप अध्ययन गर्नु नै पर्दैन । केही दिनअघि मात्र हेटौडासँगै जोडिएको पालिका मनहरीकी एकजना १७ वर्षीय किशोरी आमा बनेकी छन् । तर उनको त्यो सुखको अनुभूति केही समयमै दुःखमा परिणत भएका छन् । आमा बन्नका लागि कुनै पनि महिलामा शारीरिक अवस्था महत्वपूर्ण पक्ष हो । तर सानै उमेरमा रहर वा बाध्यताले आमा बन्नेहरुको मानसिकदेखि शारीरिक परिपक्वता हुँदैन । जसले गर्दा आमा र सन्तानको ज्यानसमेत जोखिममा पर्ने बढी सम्भावना हुन्छ । यसैको परिणाम मनहरीकी किशोरीले आफ्नो सन्तालाई जीवित राख्न सकिनन् । उनको शारीरिक अवस्था कमजोरमात्र भएन कि, मानसिक अवस्थामा समेत असर पर्ने अवस्था हुन्छ ।
सचेतनाको कमी र भौगोलिक विकटताले महिलाहरु घरमा नै सुत्केरी हुनेको संख्या अझै धेरै छ । बालविवाहपछि सुत्केरी आफैंमा जोखिम हो भने अझै घरमा नै प्रसुति गराउनुपर्ने अवस्था राज्यका लागि चुनौती हो । विवाह मानवीय चक्र भए पनि उचित समय र उमेरबारे जानकारी गराउनु, आउने जोखिमबारे सचेतना वृद्धि गर्नु राज्यका निकायहरुको जिम्मेवारी हो । भौगोलिक विकटता, शिक्षा र चेतनाको कमी र गरिबीको मुख्य कारण बालविवाह हुने गरेको छ । गाउँमा मात्र हैनकि, राजधानी हेटौंडामा समेत बालविवाह र आमा हुनेहरुको संख्या उल्लेख्य देखिन्छ । बालविवाहपछिको जन्मले बालमृत्युको अवस्था बढाउनेछ । तथ्यांक सार्वजनिक गरेर संस्थाको प्रोफाइल बढाउने भन्दा समाज रुपान्तरणमा भूमिका खेल्न सक्नुपर्दछ ।