हेटौंडाः ६० वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई वृद्ववृद्धा (ज्येष्ठ नागरिक) मानिन्छ । यो अवस्थामा धेरैजसो मानिसहरु शारीरिक र मानिसिकरुपमै कमजोर भइसकेका हुन्छन् ।
वृद्धअवस्थामा पुगेपछि मानिसहरुमा मन्दिर जाने, भजन गर्ने र घरमा भएका नातिनातिनालाई हेरबिचार गर्दै उनीहरुसँग रमाउने रहर हुन्छ । काम गरेर खानेभन्दा पनि साना बालबालिकासरह खेल्ने र रमाउने रहर अधिकांश ज्येष्ठ नागरिकमा हुन्छ । तर ज्येष्ठ नागरिकमाथिको सम्मान नै अन्यौलमा देखिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा फुटपाथमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका दुई वृद्ध आमाहरुको वेदना सुन्दा मन खिन्न हुन्छ । तर हाम्रो समाजमा यस्तै समस्या धेरैमा देखिन्छ । आफ्नै सन्तानबाट वृद्वावस्था भएपछि अपहेलित हुनुपर्ने हुन्छ । विडम्बना अहिलेको २१ औं शताब्दीमा पनि आफ्नै कोखबाट जन्मिएका सन्तानले बुढेसकालमा स्याहारसुसार नगरेपछि कुन आमाको मन खिन्न नहोला, आँखाबाट आँशु नझर्ला ?
हेटौंडा अस्पातल आसपासमा एक वृद्व महिलाले फुटपाथ पसल सञ्चालन गर्दै आउनुभएको छ । करिब ६५ वर्षीया ठूलीमाया राईले विगत ७ वर्षदेखि चाउचाउ, बिस्कुट, मास्क, अमिलो र चकलेटलगायत किराना पसलका सामग्री सडकमा राखेर बेच्दै आइरनुभएको छ । यसअघि उहाँले कांग्रेसचोकमा चिया पसल सञ्चालन गर्दै आउनुभएको थियो ।
ती वृद्व ठूलीमाया भन्नुहुन्छ— ‘सडकपेटीमा राखेर व्यापार गर्दा आफ्नै छोराको आँखा लाग्छ ।’ आफूले दिनभरि सडकपेटी तथा अस्पताल आसपासमा गरेको व्यापारबाट आएको पैसा नै छोराले दुरुपयोग गर्ने गुनासो उहाँले गर्नुभयो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2022/03/rae-1.jpg)
छोरा डेढ वर्षको हुँदा वैदेशिक रोजगारको शिलशिलामा छिमेकी देश भारत जानुभएका ठूलीमायाको श्रीमान अहिलेसम्म पनि सम्पर्कविहीन हुनुहुन्छ । ठूलीमायाका छोरा अहिले २८ वर्षको भइसके, तर छोराले निर्वाह गर्नुपर्ने जिम्मेवारी भने शून्य छ । आफूले बुढेसकालमा सानोतिना व्यापारबाट गरेको कमाई आफैंले सदुपयोग गर्न नपाउँदाको पीडा सुनाउँदै पटकपटक भकान्निएर आँखाबाट आँशु झार्नुहुन्छ, ठूलीमाया । आफू एकल तथा वृद्वा महिला भएको बताउनुहुँदै सरकारबाट पाउनुपर्ने सेवा सुविधाबाट अनभिज्ञ रहेको बताउनुभयो । नागरिकतासमेत आफ्नो साथमा नभएकाले एकल महिलाको सुविधाको लागि कतैबाट सुनुवाई नभएको उहाँको भनाइ छ ।
ठूलीमाया हेटौंडा–१ स्थित जरुवाटोलमा भाडाको कोठामा बसेर फुटपाथ पसलबाट दैनिक जीविकोपार्जन गर्दै आउनुभएको छ । न घर छ, न जग्गाजमिन छ, त्यसैले आफू शारीरिकरुपमा कमजोर हुँदा कसले हेर्छ भन्ने कुराको चिन्ता रहेको पीडा उहाँले सुनाउनुभयो । खोटाङ जिल्लामा जन्मिनुभएकी ठूलीमायाले हेटौंडामा व्यापार गर्न सुरु गरेको पनि २० वर्ष भइसकेको छ । ‘पहिला एउटा छोराको आशामा संघर्ष गर्दै यहाँसम्म आइपुगेँ’, उहाँ भन्नुहुन्छ– ‘अहिले हुर्किएको छोराले बेवास्ता गर्नेमात्र नभई आफूले कमाएका पैसासमेत लगेर खर्च गर्दा पटकपटक आँखाबाट आँशु झर्छ ।’
फुटपाथमा पसल राख्दा वृद्ध महिलामाथि नै नगरप्रहरीले हस्तक्षेप गर्ने गरेको उहाँले बताउनुभयो । दुई वर्षअघि मात्र दुईपटक नगरप्रहरीले सामान हटाएर व्यापार गर्न नदिएको उहाँको भनाइ छ । आफू सुगर र प्रेसरको बिरामी रहेको बताउनुहुँदै यसभन्दा जटिल रोग तथा बिरामी भएको अवस्थामा औषधी उपचार गर्नसमेत पैसा जगेर्ना गर्न छोराले नदिएकोमा सबैभन्दा बढी उहाँको दुःखेसो छ । सुकुम्बासी तथा विपन्न परिवारलाई स्थानीय सरकारले दिने १० हजार रुपैयाँ पनि नागरिकता नभएकाले प्राप्त गर्न नसकेको उहाँको भनाइ छ ।
यसैगरी, हेटौंडा–१० स्थित बुद्धचोक आसपासमा फुटपाथ पसल सञ्चालन गर्दै आउनुभएकी वद्धाको बेदना पनि उस्तै छ । बदम र अमलाको व्यापार गर्दै आउनुभएकी ती वृद्वा दिनमा १ सय ५० रुपैयाँ बदामबाट नाफा हुने गरेको बताउनुहुन्छ । रामेछापमा जन्मनुभएकी ७० वर्षीया वृद्धा ईन्द्रमाया परियारले दुई वर्षदेखि व्यापार गर्न थालेको बताउनुभयो । वृद्धावस्थामा शारीरिकरुपमा नै कमजोर हुने कारणले आफ्नो उपचारकै लागि पनि फुटपाथमा व्यापार गर्ने गरेको बताउनुभयो ।
यसअघि बजार आसपासमा ठेलामा तरकारी राखेर बेच्ने गरेको उहाँले जानकारी दिनुभयो । श्रीमान पनि वृद्ध र अशक्त रहेको परियारले बताउनुभयो । छोरा–बुहारीसँगै बस्दै आए पनि आफ्नो आधारभूत आवश्यकता आफैंले पूरा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ— ‘छोरा जन्मिए पनि वृद्वावस्थामा हेर्ने कोही हुँदैनरहेछ ।’
आम नकारात्मक धारणाबाट ग्रसित सोचाइ नै वृद्धावस्थाका लागि प्रमुख समस्या हुने परियारले दावी गर्नुभयो । अहिलेको बदलिँदो पारिवारिक प्रणाली तथा यथार्थप्रति सजग हुन नसक्नु र भए पनि त्यहीअनुरूप आफूलाई तयार राख्न नसक्नु अर्को समस्या हुने गरेको उहाँले बताउनुभयो । परिवर्तित पारिवारिक संरचना र प्रणाली अनि खर्चिलो र जटिल बन्दै गएको हाम्रो जीवन पद्धतिका कारण ज्येष्ठ नागरिकको जीवन असहज र कष्टपूर्ण बनिरहेको छ । वृद्धावस्था जीवन र जगतको अनुभव र अनुभूतिहरू संग्रह भएको स्रोत सम्पन्न उमेर हो । धेरै कुराबाट मुक्त भई आफ्नो रुचि र रचनात्मक क्षमतालाई उजागर गरी रमाउने उमेर भएपनि यथार्थमा हाम्रो अवस्था विपरित देखिन्छ ।