संयुक्त युवा क्लबको सम्पर्क कार्यालय उद्घाटन गर्नुहुँदै मेयर महत ।

हेटौंडाः हेटौंडा–५ का क्रियाशील विभिन्न आठ वटा क्लबहरुको छाता संगठन संयुक्त युवा क्लबको सम्पर्क कार्यालय सानोपोखरामा स्थापना भएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै मेयर महतले समाज परिवर्तनका लागि युवाको अहम् भूमिका रहने बताउनुभयो । युवा नै समाज परिवर्तन गर्ने आधार भएको उहाँको भनाई छ ।

कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँले समाज परिवर्तनका लागि स्थापना भएको युवा क्लबलाई आफूले सधैं हातमा हात मिलाएर अघि बढ्ने बताउनुभयो । क्लबहरु पनि स्थानीय सरकारको सहयोगी हात रहेको उहाँको भनाइ छ । क्लबमा व्यक्ति–व्यक्ति र पार्टी–पार्टीको कुरा हुन नहुने भन्दै समाज परिवर्तनका लागि लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संयुक्त युवा क्लबका अध्यक्ष विशाल महतले कुनै एक क्लबले मात्र समाज परिवर्तनका लागि लाग्दा असम्भव हुने भएकाले विभिन्न क्लबहरुको प्रतिनिधित्व रहनेगरी एउटा संयुक्त क्लब बनाइएको बताउनुभयो । उहाँले वडा नम्बर ५ भित्र रहेका क्लबहरुमार्फत् युवाहरुसँग समन्वय गरी युवाहरुप्रति राष्ट्रप्रेम जागृत गराउने, सामाजिक उत्तरदायित्व निर्वाहमा प्रेरित गर्ने, समाजमा देखापरेका कुरिति अन्त्य गर्ने र युवाहरुमा देखिएका समस्याहरुको समाधान गर्ने उद्देश्य क्लबको रहेको बताउनुभयो । उहाँले आगामी दिनमा अरु सक्रिय क्लबहरुलाई पनि जोड्दै जाने बताउनुभयो ।