हेटौंडाः हेटौंडा भेट्रान्स क्लबले हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माविमा १ कक्षादेखि ५ कक्षासम्म अध्ययनरत चेपाङ तथा विपन्न परिवारका विद्यार्थीलाई ट्र्याक–सुट सहयोग गरिएको छ । क्लबका पदाधिकारी विद्यालयमै पुगेर आइतबार बिहान ५५ जना विद्यार्थीलाई ट्र्याक–सुट हस्तान्तरण गरेको छ ।
क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षता तथा वडाअध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यमा विद्यार्थीलाई ट्र्याक–सुट हस्तान्तरण गरिएको हो । क्लबका सदस्य कविन सांगामीको संयोजकत्वमा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो । भेट्रान्स क्लबले ३३ हजार रुपैयाँ बराबरको ट्र्याक–सुट सहयोग गरेको हो ।
यस्तै हेटौंडा–१ स्थित गलोबल सर्जिकल सप्लायर्सका सञ्चालक राजन सञ्जेलले विद्यालयलाई १० हजार रुपैयाँ बराबरको सेनिटाइजर र मास्क सहयोग गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी पूर्वअध्यक्ष मीना लामा, प्रधानाध्यापक दीपकलाल खतिवडा, क्लबका कोषाध्यक्ष रमेश उप्रेतीको पनि उपस्थिति रहेको थियो ।