हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा मनहरी गाउँपालिका—७ मा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र हेटौंडा आँखा अस्पतालका केन्द्रीय सदस्य सिद्धिलाल श्रेष्ठले संयुक्त रुपमा मंगलबार सामुदायिक आँखा केन्द्रको उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाले २ जना कर्मचारी र भवनको भौतिक सुधार गर्ने गरी प्रत्येक दिन सेवा सुविधा उपलब्ध गराउने गरी उद्घाटन भएको उप्रतीले जानकारी दिनुभयो । आँखा केन्द्रका लागि होण्डाई मोटर फाउन्डेसन र योङसाई विश्वविद्यालय दक्षिण कोरियाले २० लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराएको छ ।
मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको २ महिनापछि आँखा केन्द्र नियमित रुपमा सञ्चालनमा आएको हो । हेटौंडा सामुदायिक आँखा अस्पतालले नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको समन्वयमा साप्ताहिक रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्दै आइरहेको थियो । सोही आँखा केन्द्रलाई स्तरोन्नति गरी दैनिक रुपमा आँखा केन्द्र सञ्चालनमा ल्याएको हो । हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले २ महिनाअघि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । यसअघि हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको बागमती गाउँपालिकामा पनि आँखा केन्द्र सञ्चालनमा ल्याएको छ ।