वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

१. स्कूल वा कलेजको परीक्षा भन्ने बित्तिकै विद्यार्थीले परीक्षा हलमा दुई देखि चार घण्टा सम्म बिताउने अर्को शब्दमा भन्दा पेपर पेन्सिल टेष्ट भन्ने बुझाई सबैमा छ । यो परम्परागत परीक्षा प्रणाली हो । यस अन्तर्गत, विद्यार्थीले लेख्ने, तोकिएको मिति र स्थानमा सिमित समय भित्र निश्चित दायरा र शर्तको अधिनस्थ रहि खास सबालका खास जवाफका आधारमा सम्वन्धित विद्यार्थीको एक सेमेष्टर वा एक वर्षे अवधिको सिकाई उपलब्धिको मापन नै हाम्रो परम्परागत परीक्षा प्रणाली बन्दै आएको छ । वर्ष भरी राम्रो गर्ने तर परीक्षामा विविध कारणले लेख्न नसकेको हकमा उपचार ब्यवस्था छैन । बिरामी वा अस्वस्थता, घरायसी समस्या तथा अन्य तनावका कारणले उक्त तिन घण्टाको अवधि गुजार्न सकसमा परेका विद्यार्थीले जीवन पर्यन्त ब्यहोरेका पिडाहरु हामीले सुनेका र देखेका छौं । सैद्धान्तिक परीक्षाको यो स्थिति छ भने अर्को तर्फ प्रयोगात्मक परीक्षाको नाममात्र प्रयोग भएको अर्थात औपचारिकता पूरा गर्ने झण्डै कूल पूर्णाङ्कको एक चौथाई मूल्याङ्कनलाई पूर्णाङ्कको नजिक अंक दिने उता सैद्धान्तिकमा भने बीस प्रतिशत पनि मुस्किलले प्राप्त हुने अवस्थाले अंक दिनेलिने दुबैलाई गिज्याई रहेकोमा बिमति छैन । प्रयोगात्मक परीक्षामा फेल भएको पनि भेटिदैंन ।

२. आजको विश्वले विज्ञान र प्रविधिको अधिकतम उपयोग मार्फत प्रत्येक विषय र क्षेत्रमा ब्यापक फड्को मारेको यथार्थ स्विकार्नै पर्छ । संसार सहज र सागुँरो बनेकै हो । यी सबै प्रकारका परिवर्तन र खोज अनुसन्धानको मूल आधार नै शिक्षा ब्यवस्था हो । हाम्रो शिक्षा प्रणालीले परम्परागत विद्यार्थी मूल्याङ्कन विधिलाई पुनरावलोकन गर्नैपर्छ । शिक्षाविदहरुले विद्यार्थी मूल्याङ्कनको सान्दर्भिक र समयानुकूल विधि ब्यवहारमा ल्याउन शिक्षा प्रशासनका उच्च पदाधिकारीलाई कन्भिन्स गर्न बिलम्व भैसकेको छ । सरोकारवर्गमा बहसको विषय बनाएर विद्यार्थी मूल्याङ्कनका औजारहरु वस्तुनिष्ठ र पारदर्शी नबनाउने हो भने शैक्षिक संकट मात्र हैन, शिक्षामा भयावह अवस्था नआउला भन्न सकिन्न । यसको प्रमाणको रुपमा कोरोनाको कारणले दुई वर्षको विद्यार्थी मूल्याङ्कनलाई विश्लेषण गर्न सकिन्छ । प्राथमिक तहदेखि विश्वविद्यालयस्तरका विद्यार्थीहरुको समेत मनोविज्ञान बदलिएको छ । विद्यार्थीको मात्र नभै शिक्षक तथा प्राध्यापकहरुको समेत सोच र चिन्तनमा बिस्तारै समस्याग्रस्त देखिएकै छ । मनलाग्दा स्कूल कलेज जाने हो, वर्ष बितेपछि कक्षा वा तह प्रमोशन भै हाल्छ । जाँचै भए पनि होम सेन्टर भै हाल्छ भन्ने विद्यार्थी आवाजका अन्तर्य बुझ्न कठिन छैन । जाँच आउने बेलामा कोरोना ब्यापक भैहाल्छ नि । ती विद्यार्थी जो परीक्षा दिएर आफ्नो क्षमता प्रदर्शन गर्न चाहनेहरुको संख्या अत्यन्त नगण्य छ ।

३. हालै एसईई परीक्षाको तालिका प्रकाशन पश्चात शंका उपशंकाका चर्चा बाहिर आएका छन् । यद्यपि यो परीक्षा प्रदेशस्तरबाट संचालन हुने र परीक्षाबोर्डले सहजिकरण मात्र गर्ने भनिएको छ । बिगत झैं गोपनियताको नाममा सकेसम्म बिदेशमा, तिन महिना लगाएर प्रश्नपत्र छपाई गर्ने, कडा सुरक्षाका बिच प्रश्न प्याक गर्ने,प्रहरी चौकीमा प्रश्नपत्रका थैला रहने, केन्द्राध्यक्षहरुको वैठक हुने, भत्ता बाँड्ने, खाजा खाने, केन्द्रका गेटमा परीक्षार्थीहरुको चेकजाँचको नाटक हुने, परीक्षा केन्द्रमा जिल्लाका ठूला मान्छेहरुको ताँतीले अनुगमन गर्ने, रजिष्टरमा उत्कृष्ट परीक्षा संचालन लेखिएका हरफहरु सहित हस्ताक्षर गर्ने, फोटो सेशन गर्ने, पत्रकारहरु परीक्षाहल भित्र गै विद्यार्थीको विचार रेकर्ड गर्दै प्रसारण गर्ने, उ.प. कपडाको थैलोमा लाहाछाप सहित प्याक गर्ने, प्रहरीका साथमा उक्त कापी चौकी लगे पछि पहिलो चरण पूरा हुन्छ । अर्को चरणमा, एक जिल्लाको कापी भिन्न जिल्लामा लाने, उ.पु. कोडि¨ गर्ने, परीक्षण केन्द्रमा परीक्षकहरुको भिड हुने, परीक्षक बन्न बनाउन सोर्सफोर्स लाग्ने, कतै कमिशनको कारोबार पनि हुने, परीक्षकलाई उत्तर पढ्न भन्दा पनि रातो मार्कि¨ गर्न प्रतिस्पर्धा हुने किनकि उ.पु. संख्याको आधारमा रकम पाईने हुन्छ । त्यस्तै सम्परीक्षणको काम पनि यस्तै शैलीबाट सम्पन्न गरिन्छ । उ.पु. डिकोडि¨ गरेर परीक्षण केन्द्रका कर्मचारीबाट मार्क स्लिपको फाईल तयार गर्ने र बोर्डमा पठाउने महत्वपूर्ण भनिने काम यो चरणमा सकिन्छ । अन्तमा परीक्षा बोर्डका गोप्यकोठामा मार्क स्लीपबाट कम्प्युटर पोष्टि¨ गर्ने काम सकिए पश्चात मात्र ग्रेडि¨ सिस्टमको सफ्टवेयरमा ईन्ट्री गरेर ग्रेड कायम गरिन्छ । केहि ग्रेस अंकका काम सकेर नतिजा प्रकाशनको तयारी प्रक्रियामा प्रवेश हुन्छ । यो एसईईको मात्र उदाहरण हैन, कक्षा १२ र विश्वविद्यालय तहका परीक्षाका अवस्था पनि यो भन्दा तात्विक अन्तरका छैनन् ।

४. गत वर्ष कक्षा १२ को संक्षिप्त परीक्षामा प्रश्नपत्र ई मेलबाट परीक्षा केन्द्रमा पठाउने कामबाट, गरे त हामी पनि परिवर्तनका लागि सक्षम छौं भन्ने साबित गरेको छ । यो एक प्रगतीशील पाईलो भन्नै पर्दछ । एसईईमा पनि यो सम्भव नभएको भन्ने स्थिति छैन । यो परीक्षाको प्राविधिक विषय हो । प्राविधिक तथा विश्वविद्यालय स्तरका परीक्षामा पनि प्रश्नपत्र ई मेलबाट उपलब्ध गराउन सकिन्छ भन्ने साबित भै सक्दा पनि फेरि पुरानै शैलीमा जानेकाम उपयुक्तु भन्न सकिदैंन । परीक्षा केन्द्रमा प्रहरीको उपस्थिति विशिष्ट अवस्थामा मात्र हुनुपर्ने हो , सामान्य स्थितिमा प्रहरीको जरुरी पर्दैन । अनुगमन र प्रचारको काम पनि आवश्यकता भित्र पर्दैनन् । प्रविधिको प्रयोगबाट सिधै परीक्षा बोर्डका पदाधिकारीले आफ्नो अफिसबाट परीक्षाहलको अनुगमन गर्न सकिन्छ । बिस्तारै प्रविधिबाट सफ्टवेयर मार्फत अनलाईन परीक्षा तर्फ उन्मुख बन्ने स्थितिमा परम्परागत शैलीमै अल्मलिनुलाई सकारात्मक भन्न सकिदैंन । हिजो यस्तो थियो , गत वर्ष जस्तो गरियो , यो वर्ष पनि त्यसै गरी गर्नु पर्छ भन्ने यथास्थितिवादका पक्षधरहरुको बोलवाला भएकै कारणले न परीक्षा प्रणालीमा सुधार भयो न त समग्र विद्यार्थी मूल्याङ्कन नै समयानुकूल बन्न सक्यो । यो त प्रश्नपत्र ,परीक्षा केन्द्रमा उपलब्ध गराउने एउटा चरणको चर्चा गरियो । संगै प्रश्नपत्र निर्माणका सबालमा अर्को बहस गर्न सकिन्छ ।

५. विद्यार्थी मूल्याङ्कनलाई सैद्धान्तिक र ब्यवहारिक तथा प्रयोगात्मक वा आन्तरिक र बाह्य परीक्षा भन्न सकिन्छ । अर्थात ज्ञान र सीपका विविध पक्ष्ँहरुमा स्तर अनूशार तहगत रुपमा मापनका उपयुक्त औजारहरु निर्धारणका लागि अन्तरक्रिया गर्न ढिलो भएको महसुस गरिएको छ । सैद्धान्तिक ज्ञानको स्तर कुन तहमा रहेको छ भनेर वस्तुगत र विषयगत प्रश्नहरु निर्माण गरिन्छ । यो नयाँ होईन । यसप्रकारको परीक्षालाई थप प्रभावकारी र सान्दर्भिक बनाउन स्थानिय तह, प्रदेश स्तर र केन्द्रमा गरी तिनवटा परीक्षा बोर्डको विधिपूर्वक ब्यवस्था गर्नैपर्छ । यी परीक्षा बोर्डले सम्वन्धित स्तरमा समन्वय गरी परीक्षा संचालन र नतिजा प्रकाशन समेतको काम गर्न सक्छन् । हामीले गुणस्तरका अधिक चर्चा गर्छौ ,त्यो गुणस्तरका क्षेत्रमा परीक्षा बोर्डको महत्वपूर्ण भूमिका रहनुपर्दछ । अर्को तर्फ आन्तरिक वा प्रयोगात्मक मूल्याङ्कनबाट विद्यार्थीको ब्यवहारिक परिवर्तन संगै हासिल गरेको सीपको मापन गर्नेकाम सम्वन्धित विद्यालयबाट गर्नु राम्रो हुन्छ । विद्यार्थीको उपस्थिति, गृहकार्य, ब्यवहारमा परिवर्तन, कक्षाकार्य, प्रोजेक्ट वर्क, सिप सिकाईको प्रदर्शनी, अनुशासनको अवस्था, जस्ता शिर्षकमा आन्तरिक तथा प्रयोगात्मक मूल्याङ्कन पारदर्शी र विश्वस्नीय बनाउनु पर्दछ । यसो गर्दा, हचुवा अंक दिने र सबैलाई पास गर्ने परम्पराको अन्त्य हुनेछ ।

६. एक महिना लामो छुट्टी पछि स्कूल कलेज खुलेका छन् । स्थगित सबै परीक्षा सुचारु गर्ने सूचना आईसकेको छ । एसईईको मात्र हैन, सिटिईभिटि तथा विश्वविद्यालयतहका विभिन्न लेभलका परीक्षाका कार्यक्रमहरु प्रकाशित भैरहेका छन् । विद्यालयतहका परीक्षाहरु पनि वैशाखमै सम्पन्न गरी नयाँ सत्र प्रारम्भको सन्दर्भ पनि कायमै छ । अबको परीक्षामा सोधिने प्रश्नहरु परिमार्जित हुनैपर्छ । बोर्डबाट प्रश्नहरु ई मेल मार्फत नै पठाउनु पर्छ । उ.पु. परीक्षणका विधि शैलीमा फेरबदल गरिनुपर्दछ । विद्यालय देखि उच्च शिक्षा सम्मका सबै तहका विद्यार्थी मूल्याङ्कनको विद्यमान परम्परागत प्रणालीमा परिवर्तनका लागि जिम्मेवार तथा सरोकार वर्गको पर्याप्त ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ ।