हेटौंडाः बालश्रम अन्त्य गर्दै स्थानीयस्तरमा बाल संरक्षण प्रणालीको सुदृढीकरण गर्न नीति निर्मातालाई सुुझाव दिने उद्देश्यले राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बाल अधिकारका विविध पक्षमा व्यापक बहस गरी भविष्यमा बालबालिकासम्बन्धी नीति बनाउन नीति निर्मातालाई सहयोग गर्न वृहत् ज्ञान सम्मेलन आयोजना गरिएको हो ।

स्वतन्त्रता अभियानको आयोजना र विश्व शिक्षाको सहयोगमा भएको सम्मेलनमा स्थानीय तहमा बालश्रमको अवस्था, चुनौती, समस्या र अबको कार्यदिशाको बारेमा छलफल गरिएको अभियानकी सचिव ऋतु भट्टराईले जानकारी दिनुुभयो । आयोजक संस्थाका सामना बरालले अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो । सम्मेलनमा बाल संरक्षण समाजका कार्यकारी निर्देशक कृष्ण सुवेदीले स्थानीयस्तरमा बालश्रमको अवस्था र संरक्षणको आवश्यकताबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बालश्रमिकको उद्दारभन्दा पनि बालश्रमबाट बालबालिकालाई जोगाउनु महत्वपूर्ण हुने बताउनुभयो । बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार हरेक स्थानीय सरकारले बालबालिकाको क्षेत्रमा कार्यविधि, प्रणाली बनाउनुपर्ने, बालअधिकार समिति बनाउने, बालकोष स्थापना र सञ्चालन, बाल कल्याण अधिकारको व्यवस्था गर्नुपर्ने दायित्व रहेको धरेलले जानकारी दिनुभयो । सम्मेलनका अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदीले बालश्रम अन्त्य गर्न सरकार एक्लैको प्रयासले नपुग्ने भएकाले सबै विकासका साझेदार संस्थाहरु, सञ्जालहरु, टे«ड युनियनहरुको माध्यमबाट तीनै तहको सरकारसँग सहकार्य गरेर कार्य गर्न आह्वान गर्नुभयो ।

सिविन नेपालका अध्यक्ष माधव प्रधानले बालश्रमको अन्त्य गर्न सोचमा सकारात्मक परिवर्तन आउनुपर्ने भन्दै संविधानको मर्म र भावनाअनुरुप स्थानीय सरकारले बालअधिकारको क्षेत्रमा खासै उपलब्धीमूलक काम गर्न नसकेकोमा दुःखेसो पोख्नुभयो । सातै प्रदेशका केही पालिकालाई बालश्रम अन्त्यको सबालमा मोडेलको रुपमा विकास गर्दै बाल हेल्पलाइनको स्तरीकरण गर्न उहाँले सुुझाव दिनुभयो ।

राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले संविधान र कानुनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन बन्देज लगाए पनि, नीति र योजनामा बालश्रम न्यूनीकरणका प्रावधानहरु तर्जुमा गरिए पनि बालश्रमको अन्त्यमा ठोस प्रगति हुन नसकेको बताउनुभयो । सरकार र विकास साझेदारहरुबाट बालश्रमलक्षित विविध कार्यक्रम सञ्चालन भइरहेको भए पनि बालश्रमको समस्या उल्लेख्यरुपमा सुधार नभएकाले सबैको सहकार्यबाट कार्य गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुुभयो । दुईदिने सम्मेलनमा बालअधिकारकर्मीहरु नरेन्द्र डंगोल, सन्तराम डंगोल, किरण थापा, नुरजंग शाह, कविता शाह, विमला ज्ञवाली, सृजना काफ्ले, रुजा पोखरेललगायतको सहभागिता थियो ।