सेनेटरी प्याड बनाउने तालिमको उद्घाटन कार्यक्रम ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको आयोजनामा हेटौंडा–१४ उत्तरपानीमा सेनेटरी प्याड बनाउने तथा सिलाई कटाई तालिम सुरु भएको छ । पुनःप्रयोग गर्न सकिने गरी सेनेटरी प्याड बनाउने तालिमले विशेषगरी ग्रामीण क्षेत्रमा महिलाहरु स्वरोजगार हुनुका साथै स्वास्थ्यका दृष्टिकोणले ग्रामीण महिलाहरुले लाभ लिन सक्ने गरी तालिमको आयोजना गरिएको रोटरी क्लबले जनाएको छ ।

रोटरी क्लबले यसअघि हेटौंडा उपमहानगरका दुई स्थान र मनहरी गाउँपालिकाको हाँडीखोलामा पनि तालिम सुरु गरिसकेको छ । हेटौंडा उपमहानगरको ग्रामीण क्षेत्रका महिला लक्षित गरी ७५ जना र हाँडीखोलामा २६ जनालाई तालिम दिन सुरु गरेको हो । रोटरी क्लबका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता तथा वडा न १४ का अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यमा शनिबार हेटौंडा–१४, उत्तरपानीस्थित भृकुटी माविको सभाकक्षमा तालिमको उद्घाटन गरिएको छ । तालिममा हेटौंडा–९, १३, १४ र १५ का ३० जना महिलाको सहभागिता रहेको छ ।