कोभिड–१९ को बहानामा सवैभन्दा बढी प्रभावित बनेको क्षेत्र हो शिक्षा । शिक्षामा पनि विद्यार्थी सवैभन्दा बढी प्रभावित भए । संक्रामक रोग भएकोले विद्यालयमा विद्यार्थीको भीडभाडमा संक्रमणको जोखिमले विद्यालयमा सतर्कता अपनाउनु जायज हो । तर, हचुवामै विद्यालय बन्द गरिदिने, विद्यालय बन्द हुँदाको उचित विकल्पको खोजी नगर्नु उत्तिकै जोखिमपूर्ण छ ।

भौतिक उपस्थितिमा नियमित पठनपाठन सम्भव नभएपछि अनलाइनमार्फत पठनपाठन सुचारु राख्ने प्रयास सकारात्मक हो । तर, अनलाइनको प्रयोग भन्दा दुरुपयोग या औपचारिकता मात्रै भइरहेको छ । विशेषगरी संस्थागत विद्यालयहरुले जबर्जस्ती भए पनि अनलाइन कक्षा लिइरहेका छन् । अधिकांश सरकारी विद्यालयमा अनलाइन कक्षा सञ्चालन नै भइरहेको छैन । अनलाइन कक्षा सञ्चालन भएका विद्यालयमा पनि विद्यार्थीको उपस्थिति न्यून छ ।

संस्थागत विद्यालयहरुले नर्सरी, युकेजी, केजी तहका विद्यार्थीलाई पनि बिहान ९ बजेदेखि ३ बजेसम्म अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । पहिलो चरणको लकडाउनको समयमा समेत बढीमा ३ घण्टा अनलाइन कक्षा लिइरहेको यो समूहलाई अहिले यत्ति धेरै समय अनलाइनमा राख्नु उचित हुन्न । आधारभूत तहका विद्यार्थीलाई यसरी लामो समय अनलाइन कक्षामा सहभागी गराउनु भनेको अभिभावकबाट मासिक शूल्क असुल्ने बहानाभन्दा केही होइन जस्तो लाग्छ ।

सिक्ने–सिकाउने विषयमा किताबमा निर्भर गराउने हाम्रो शैक्षिक संस्थाहरुको अभ्यास पनि एकप्रकारको भ्रम नै हो । बालबालिकालाई सिकाउने प्रक्रियामा सुधार नै गर्न सकिएन । बालबालिकाको सिक्ने, सिकाउने प्रक्रियामा सुधारका लागि पनि विद्यालयहरुले ध्यान देओस् भन्ने लागेको छ । यसैबीच आगामी सातादेखि विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन हुने कुरा सराहनीय छ । बालबालिका फेरि आफ्नै विद्यालयमा रमाउने दिन फर्किएको छ । अब भने बालबालिकालाई रमाउने, खेल्ने, सिक्ने अवसरका लागि विद्यालय सञ्चालक, शिक्षक, अभिभावक सवैले ध्यान दिनु जरुरी छ । साथै कोभिड–१९ मात्रै नभएर विद्यार्थीमा कुनै किसिमको स्वास्थ्य समस्या नआओस् भनी ‘स्वस्थ विद्यालय, स्वस्थ विद्यार्थी’ को नारासहित निरन्तर स्वास्थ्य सतर्कता अपनाउन सरोकारवालाको ध्यान जाओस् ।

विपना देवकोटा, हेटौंडा–८, कमाने