हेटौंडाः धेरै किसानहरुको लागि पशुपालन एउटा आयआर्जनको बाटो बनिरहेको छ । पशुपालन कार्यलाई परम्परागतसँगै व्यावसायिक बनाइँदै लैजान थालिएको छ । गाई, भैंसी, बाख्रा, कुखुरासँगै बङ्गुर पालनले पनि व्यावसायिकता पाउन थालेको छ ।
पछिल्लो समय मकवानपुरका किसानहरु पनि बङ्गुर पालनतर्फ आकर्षित भएको देखिन्छ । केही वर्षअघि कुखुरा पालनमा अकर्षित हुने किसान तथा व्यवसायीहरु पछिल्लो समय बङ्गुर पालनतिर लागेका हुन् ।
केही वर्ष अघिदेखि कुखुरामा वर्डफ्लु देखिएपछि कुखुरापालन व्यवसायबाट धेरैले नोक्सान व्यहोर्नु परेको थियो । कुखुरामा वर्डफ्लु देखिएसँगै मकवानपुरमा पनि कुखुरा पालन व्यवसाय राम्रो हुन सकेको छैन । तर मानिसहरु बङ्गुर पालनबाट नोक्सानी व्योहोर्नु नपरेपछि यस व्यवसायबाट हर्षित छन् ।
बङ्गुरपालन व्यवसायमा रमाइरहेका एक व्यक्ति हुन्, हेटौंडा—११ थानाभर्याङ बस्दै आउनुभएकी हीरारत्न हायु । करिब ८ वर्षदेखि बङ्गुर पालन गर्र्दै आएको बताउनुहुन्छ, हायु । ३६ वर्षकी आयु भन्नुहुन्छ— ‘बङ्गुर पालन गर्नुअघि सिलाईकटाईको काम गरेको थिएँ ।’ सिलाईकटाई कामभन्दा बङ्गुर पालनमा बढी मिहिनेत र संघर्ष गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘बङ्गुरपालन व्यवसायमा मिहिनेत गरेअनुसारको आम्दानी हुन्छ’, हायु भन्नुहुन्छ– ‘जति बङ्गुरको हेरचाह गर्नसक्यो त्यति आम्दानी बढी गर्न सकिन्छ ।’ आफ्नो दैनिक जीविकोपार्जन गर्ने आधार नै बङ्गुरपालन रहेको उहाँले जानकारी दिनुभयो । मासिक ६० हजार खर्च गरेर बङ्गुरपालन गरिरहनुभएको हायुले आम्दानी सन्तोषजनक रहेको बताउनुभयो ।
एकजोडी भाले र पोथी बङ्गुर पालनबाट व्यवसाय सुरु गर्नुभएकी हायुसँग अहिले ३० वटा बङ्गुर छन् । अन्य कर्मचारीबिना नै हायु एक्लैले बङ्गुर पाल्दै आउनुभएको छ । बङ्गुरपालन गर्न अति गाह्रो भए पनि आफू यस पेसामा आत्मनिर्भर बन्न सकेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।