सामाज सुधारका लागि सबैको जिम्मेवारी समान हुन्छ । सरकारी निकायमा बसेकाहरुले ऐन नियमको पालना गराउनु पर्दछ । जिम्मेवार निकायका पदाधिकारीले नै पहिला नियमको पालना गर्न आवश्यक हुन्छ । अनुशासन सिकाउनेहरु आफैं अनुशासित हुनुपर्दछ । व्यक्ति स्वयम् उदाहरण बन्न सक्नुपर्दछ । आफूले जे गरे पनि हुने र गल्ती जति सबै अरुले मात्र गर्दछन् भन्ने चिन्तनबाट नेपाली समाज ग्रसित हुँदा अनुशासनहिनता बढ्दै गएको छ । कसैप्रति दोष लगाउँदै गर्दा आफ्नो जिम्मेवारी पूरा गरिएको छ वा छैन भन्ने पक्षबाट विश्लेषण हुनुपर्दछ । समाज सभ्य बनाउने जिम्मेवारी कुनै निकय वा संस्थाको मात्र नभई नागरिक सबैको समान दायित्व हो । सम्बन्धित पक्षहरुले पानीमाथिको ओभानो बन्न खोज्दा उच्छृङ्खलता बढ्दै जान्छ ।
हेटौंडा–४ स्थित शीतल महलचोकमा व्यवसाय गर्दै आइरहेकी एक महिलालाई नगर प्रहरीले पक्राउ गरेको दृष्य सामाजिक सञ्जालमा कारुणीक देखियो । नगर प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेका हुन् । तर मानवीयतालाई पनि ख्याल गरिनु आवश्यक हुन्छ । अव्यवस्थितरुपमा, नगरपालिकाको स्वीकृतिबिना वा मापदण्डविपरित गतिविधि वा कारोवार गर्न पाइँदैन । यस्तो क्रियाकलाप गर्नेहरुलाई पालिकाले नियमन गर्नु आवश्यक छ । तर त्यस्तो कार्य गर्दा मानवीय पक्षलाई ध्यान दिन जरुरी हुन्छ । सडकपेटीमा ठेलामा व्यापार गरेर शहरको सौन्दर्य बिगारेको आरोपमा आमाछोरी पक्राउ परेका थिए । सडकपेटीमा ठेला राखेको सजाय बालिकासहित पक्राउ नै गर्नुपर्ने हो वा अन्य कुनै तरिकाहरु पनि थिए ? स्कूलको व्याग भिरेकी नानी समेतलाई नगरप्रहरीको गाडीमा राख्दै गर्दा मानवीय समवेदनाको प्रश्न उठ्नु स्वभाविक हो ।
विगत ५ वर्षदेखि हेटौंडामा पानीपुरी तथा चटपटेको व्यवसाय गर्दै आइरहेकी महिलालाई छोरीसहित नगरप्रहरीले पक्राउ गरेको हो । यस घटनालाई लिएर नगरपालिकाको आलोचना भएको छ । पक्राउ पर्दै गरेकी महिलाले उठाएका प्रश्नको जवाफ नागरिक समाज, मानव अधिकारकर्मी, बालअधिकारको क्षेत्रका नियकाहरुले दिनुपर्ने हुन्छ । एकजना महिलाले चुलो बाल्न मिहिनेत गर्नु अपराध हैन । जीवन धान्न सामाजिक मर्यादामा रहेर व्यवसाय गर्नु अपराध हैन । तर ठूलै अपराध गरे झैं छोरीसहित पक्राउ गरिनुले नगर प्रहरीको व्यवहार आलोच्य नै देखिन्छ । नगरबासीको अभिभावक संस्थाले यस्तो व्यवसायका लागि स्थान उपलब्ध गराइदिनु आवश्यक छ ।
नगरपालिकाको नियम पालना गर्नु सबैको कर्तव्य हो । तर हेटौंडाका सबै सडकपेटीमा गरिएको व्यवसाय हटाउनु पर्दछ । तर विकल्प दिनु पनि आवश्यक छ । शहरको सौन्दर्यता भन्दा नागरिकको छाक टार्नु पहिलो दायित्व हो । नीति नियम सबैका लागि एउटै हुने हुँदा पालना गर्नु सबैको जिम्मेवारी हो । सवारी साधन तथा पैदल यात्रीहरुको आवतजावतसमेत ठप्प गरी ठेलामा व्यवसाय गर्न हुँदैन । तर त्यस्तो व्यवसाय गरी जीवन निर्वाह गर्नेहरुलाई व्यवस्थित गर्ने जिम्मेवारी पनि पालिकाकै हो । हेटौंडाका सडक आफैंमा साँघुरा हुँदै गएका छन् । त्यसमाथि निर्माण सामग्रीदेखि ठेला व्यवसायहरु पनि त्यहीँ पुगेपछि सर्वसाधारणले गुनासो गर्ने नै भए । गुनासोको समाधान भनेको कसैलाई पक्राउ गनुर्् वा व्यवसाय बन्द गराउनु होइन । समाधानका लागि विकल्पको खोजी गर्नुपर्दछ ।