गुगल तस्वीर ।

हेटौंडामा साइकल चढ्नेको संख्या दिनप्रतिदिन बढ्दो छ । साइकल चढ्दा शारीरिक परिश्रम हुने मात्र नभई पेट्रोलियम पदार्थको खपतमा पनि कमि ल्याउन सकिन्छ । यसबाट थोरै भएपनि मुलुकको व्यापार घाटा न्यून गर्न सकिन्छ । कार्बन मोनोअक्साइड उत्पादन पनि कम हुन्छ र पर्यावरणमा पनि सुधार आउँछ ।

शारीरिक श्रम गर्ने क्रम घटेकै कारण आममानिसले कम उमेरमै धेरैखाले रोगको औषधि उपभोग गर्नु परिरहेको छ । हामीले खाएको खानेकुरा हाम्रो शरीरमा कति उपयोग भएको छ भन्ने प्रश्न हामीले गर्ने शारीरिक श्रमसँग जोडिन्छ । यतिमात्र होइन साइकल चढ्ने बानीको विकासले अरु धेरै कुरामा फाइदा पुग्छ ।

तर, हामी २/३ सय मिटर टाढा जानुपर्‍यो भने पनि सवारी साधनको प्रयोग गरिहाल्छौं । थोरै हिँड्न पनि हाम्रो चाहना छैन । हामी सौखिन बन्दै गएका छौं । हाम्रो व्यवहार पनि बिलासी बन्दै गएको छ । त्यसैले पनि हामीलाई साइकल चढ्ने बानीको विकास गर्नु जरुरी छ । नेपालमा साइकल चढ्ने चलन पुरानै हो तर, अहिले साइकल चढ्दा हामीलाई लाज लाग्छ ।

यति भनिरहँदा के हेटौंडा सहरका सडकहरु साइकलमैत्री छन् त ? हामीलाई थाहा छ कि आजभन्दा २०/२५ वर्ष अघिसम्म हेटौंडामा सीमित संख्यामा मोटरसाइकल वा जीप, कार थिए । तर, २०६४ को तराई आन्दोलनले जमीनको मूल्य आकासिएपछि मोटरसाइकल र साना सवारी साधन चढ्नेको संख्या एकाएक बृद्धि भयो । अहिले हरेकदिन सहरी क्षेत्रमा जाममा परिन्छ ।

सहरी क्षेत्रका सडक धुलो धुवाँ र प्रदुषणको चपेटामा छ । सवारी साधनको अत्यधिक चापका कारण वायु प्रदुषण बढ्दो छ । प्रदुषण न्यूनीकरणका विभिन्न उपाय मध्ये साइकलको प्रयोग उपयुक्त विकल्प हुन सक्छ । तर, हेटौंडामा साइकलमैत्री सडकहरु छैनन् । साइकलयात्री जोखिम मोलेरै सडकमा यात्रा गर्न बाध्य छन् । हेटौंडामा साइकलमैत्री सडकको अभाव छ । नगरपालिकाले बेलाबेलामा सडक विस्तार गरेपनि साइकल लेन निर्माणमा ध्यान दिइएको पाईंदैन । वातावरण स्वच्छतासँग जोडिएको साइकल लेन नहुँदा साइकलयात्रीलाई अप्ठेरो पर्ने गरेको छ र साइकलयात्रा नै असुरक्षित छ ।

नेपालमा साइकलको प्रयोगलाई सरकारले नै महत्व नदिएको विज्ञहरुको गुनासो छ । साइकल संस्कृतिको विकासका लागि साइकलमैत्री सडक अनिवार्य सर्त हो । दोस्रो सर्त भनेको साइकल स्ट्याण्ड हो । सडक पूर्वाधार निर्माण गर्दा साइकलमैत्री बनाउने चासो नदेखाएकै कारण समस्या आएको छ । साइकल संस्कृतिले वायु प्रदुषण कम त गर्छ नै इन्धन आयातमा हुने खर्च पनि कम हुन्छ ।

सडक बिस्तार गर्दा र नयाँ सडकहरु बनाउँदा फुटपाथसँगै साइकल लेन अनिवार्य गराउनु पथ्र्यो । तर, त्यसो हुन सकेन । हेटौंडा नगरको पूर्बी क्षेत्रमा पछिल्लो समयमा बनेको धरान–चतरा सडकखण्ड होस् वा कान्तिराजपथ होस् चिल्ला सडक बन्यो तर, साइकल लेनको काम भएन । न त नगरपालिकाले बनाएका सडक नै साइकलमैत्री बन्न सक्यो ।

विश्वका धेरै देशमा साइकल सिटीहरु विकास भइरहेका छन् । युरोपेली मुलुकमा एसयुभीसँगै साइकल अनिवार्य जस्तै छ । सिंगापुरमा पछिल्लो एक दशकमा साइकल चढ्नेको संख्या निकै बढेको छ । नर्वे, डेनमार्क जस्ता समृद्ध देशमा त्यहाँका राजपरिवारका सदस्यहरु समेत साइकलमा भेटिन्छन् । तर, हामी गाडी पनि आयात गर्छौं र त्यसमा प्रयोग हुने ईन्धन पनि आयात गरिरहेका छौं ।

पछिल्ला दिनहरुमा केही युवाहरुले साइकलको मुद्दा उठाईरहेका छन् । कोरा साइकल र्‍याली, अभियान, छलफलमा साइकलका महत्व र गुरुत्वलाई सरकार, समाज, सहर, नेता, कर्मचारीतन्त्रलाई बुझाउने प्रयास भइरहेको छ । यतिले मात्र नीति निर्माण गर्ने तहमा ध्यानाकर्षण हुन सकेको छैन । बिना कुनै झन्झट, बिना कुनै जाम, ठेलम–ठेल, कोचा–कोच, धुवाँ, धुलोबाट बचेर त्यति नै समयमा साइकलबाटै गन्तव्यसम्म पुग्न सकिन्छ ।

नगरपालिका वा गाउँपालिकाले सडक संरचना निर्माण गर्दा साइकलमैत्री, व्हिलचेयरमैत्री सडक नीति बनाउन अब ढिला नगरौं । सफा सहरको अवधारणाका बारेमा भाषण गर्ने नेताले लिने नीति गलत भयो भने जनताले दुख पाउँछन् । अहिलेसम्म नेपाल सरकार लगायत सम्पूर्ण स्थानीय सरकारले गाडी केन्द्रित यातायात नीति लिएका छन् ।

कतिपय ग्रामीण क्षेत्रका पालिकामा स्थानीय सरकार आएपछि सडक नभएका पालिकाले पनि गाडी खरिद गरेको समाचार आएका थिए । यही नीति गलत थियो । ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा साइकल लेन निर्माण गर्ने विषयमा बहस गरौं । आगामी दिनमा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुको घोषणापत्रमा साइकल लेनका कुरा छ कि छैन हेरौं र चित्त बुझे मात्र भोट हाल्नत यार रहौं ।

हेटौंडा सहरलाई साइकलमैत्री बनाउन धेरै ठूलो समस्या छैन । विद्यमान सडकलाई नै साइकलमैत्री बनाउनका लागि अध्ययन गर्नुपर्छ । गुरुयोजना निर्माण गर्नुपर्छ र कुन–कुन क्षेत्रका सडकलाई साइकलमैत्री बनाउने भन्ने कुरा प्राथमिकतामा राखेर काम गर्नुपर्छ । हेटौंडालाई साइकलमोडल सिटीको रुपमा विकास गर्ने विषयमा बहस चलाउन अब ढिला नगरौं ।

स्थानीय सरकारको लगानीमा साइकल लेनहरुको राम्रो सञ्जाल बनाईए धेरैभन्दा धेरै गाडी, कार, मोटरसाइकल चलाउनेहरु पनि साइकलमा यात्रा गर्न थाल्नेछन् । साइकल लेन बिनाको हालको सडक एकदमै असुरक्षित छ । यहाँ ज्यानको जोखिममा राखेर किन साइकल चलाउनु ? त्यसैले साईकल लेन, पथहरु, साइकल स्टाण्डहरुमा सरकारले लगानी गर्नु सहर, समाज, नागरिक, देश सबैको स्वास्थ्यमा लगानी गर्नु सरह हो भन्ने कुरा कहिले बुझ्ने ?