मकवानपुर जिल्ला लागूपदार्थ उत्पादन, ओसारपसार र सेवनका हिसाबले धेरै पहिलादेखि चर्चित बन्दै आएको छ । पछिल्लो समय मकवानपुर जिल्ला र विशेषगरी हेटौंडा बजार आसपासका क्षेत्र लागूऔषध ओसारपसारका हिसाबले ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको छ । हेटौंडा बजार आसपासमा लागूपदार्थ सेवनकर्ता पनि उल्लेख्य बढिरहेका छन् । नेपाल भारतबीचको वीरगञ्ज नाका हुँदै भित्रिएका लागूऔषध हेटौंडाको बाटो भएर राजधानी काठमाडौं, भरतपुर, पोखराजस्ता शहरमा बिक्रीवितरणका लागि पुग्ने गरेको छ । हेटौंडा बजार र आसपासका क्षेत्रबाट दिनहुँजसो लागूऔषध ओसारपसारमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरिरहे पनि लागूऔषध कारोबारीको संख्यामा कमी आएको छैन । मकवानपुर प्रहरीले दिनहुँजसो लागूऔषध तस्कर, ओसारपसारमा संलग्न र सेवनकर्तालाई पक्राउ गरे पनि लागूऔषध बेचविखन र सेवनको समस्या भयावह बन्दै गएको अनुमान गर्न सकिन्छ ।

प्रहरीले आइतबार साँझमात्रै लागूऔषधसहित ६ जनालाई हेटौंडा–९ बाट पक्राउ गरेको छ । हेटौंडा–९ को मास्टरचोकमा डेरागरी बस्ने १८ देखि ३५ वर्षसम्मका ६ जना युवालाई इलाका प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो । यसैगरी सोमबार प्रहरीले मकवानपुरको भैंसेबाट १ सय ८३ केजी गाँजासहित पिकअप भ्यान र चालकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी चौकी भैंसेको प्रहरी टोलीले उक्त लागूऔषध बरामद गरेको हो । यसैगरी प्रहरीले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्गको मनहरीमा गाँजा र चरेश बरामद गर्नुका साथै ३ जनालाई पक्राउ गरेको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको पिकअप गाडीलाई शंका लागि सुरक्षाजाँच गर्दा गाडीबाट २० केजी ५ सय ग्राम चरेस र १० केजी गाँजा प्रहरीले बरामद गरेको छ । यी पछिल्ला केही दिनका प्रतिनिधि घटनामात्र हुन् । मकवानपुरका कुनै कुनै स्थानबाट दिनहुँजसो प्रहरीले लागूपदार्थ ओसारपसारमा संलग्नहरुलाई लागूपदार्थसहित पक्राउ गर्दै आएको छ ।

प्रहरीले लागूऔषधसहित पक्राउ गरेका अधिकांश व्यक्तिलाई अनुसन्धानपछि कानुनी कारबाहीको लागि अदालतमा मुद्दा दायर गर्ने गरेको छ । मकवानपुरको ग्रामीण भेगमा खेती गरिने गाँजा बिक्री गरी भरियालाई बोकाएर तथा विभिन्न किसिमका सवारी साधन प्रयोग गरेर भारतीय सीमा नाकासम्म पु¥याइन्छ । यसक्रममा सुराकी पाएको अवस्थामा प्रहरीले पक्राउ गर्ने गरेको भए सुराकीबिना प्रहरीले आक्कलझुक्कलमात्र पक्राउ गर्ने गरेको छ । यसैगरी भारतीय सीमा क्षेत्रबाट अवैधरुपमा आएको लागूपदार्थ हेटौंडा हुँदै देशका विभिन्न भागमा पु¥याउने क्रममा विशेषगरी रातोमाटे चेकप्वाइन्ट तथा हेटौंडाको बसपार्क क्षेत्रमा प्रहरीले पक्राउ गर्ने गरेको छ । कतिपय अवस्थामा विभिन्न प्रकारका सवारी साधनमा अन्य सामानसँग मिसाएर, सजिलै थाहा नपाउनेगरी विशेष स्थानमा लुकाएरमात्र नभई एम्बुलेन्ससमेतको प्रयोग गरेर गाँजा तस्करी हुने गरेको पाइन्छ । प्रहरीले लागूपदार्थको खेती नै नष्ट गर्ने तथा तस्करी नियन्त्रणका लागि सक्रियता देखाउँदै आइरहेको भए पनि लागूपदार्थको तस्करी, ओसारपसार तथा सेवनको क्रम पनि बढ्दै गएको पाइन्छ ।

कानुनले वर्जित गरेका लागूऔषधको कारोबार गर्ने संगठित गिरोह र व्यापक सञ्जाल नै सक्रिय भए पनि प्रहरीबाट प्रायः भरियामात्र पक्राउ हुने गरेको छ । लागूऔषधको मुख्य कारोबारी गिरोह पक्राउ नहुँदासम्म लागूऔषध ओसारपसार, बेचविखन तथा सेवनलाई रोक्न कठिन नै हुन्छ । लागूपदार्थ दुव्र्यसनका कारण धेरै युवाहरुको अमूल्य जीवन बर्बाद् भइरहेको छ । लागूऔषधको कुलतमा फसेका अधिकांशको भविश्य, स्वास्थ्य र जीवनमाथि गम्भीर नकरात्मक असर परेको छ । समयमै लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनलाई रोक्न नसक्ने हो भने यसले समाजमा ठूलो क्षति पुग्ने निश्चित छ । लागूपदार्थ ओसारपसारमा संलग्नलाई पक्राउ गर्नुका साथै प्रहरीले यसको कारोबारमा संलग्न गिरोहलाई नै फक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।