हेटौंडाः ऋषि केबीको कविता संग्रह ‘अभिमन्यु नयाँ भूमिकामा’ सार्वजनिक भएको छ । जिल्ला बार एसोसिएसन मकवानपुरका अध्यक्ष केबीको नवौं कृतिको रुपमा ‘अभिमन्यु नयाँ भूमिकामा’ बुधबार साहित्य संगम मकवानपुरको सभाहलमा विमोचन गरिएको छ ।
कृतिकी प्रकाशक पूण्यशीला श्रेष्ठको सभाध्यक्ष तथा जिल्ला अदालत मकवानपुरका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको प्रमुख आतिथ्यमा कृति विमोचन गरिएको थियो । कृति विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै न्यायाधीश श्रेष्ठले देश विकास निर्माणका नाममा देश विनाशतिर गइरहेको बताउनुभयो ।
कृतिका समीक्षक पुरुषोत्तम आचार्यले मानिस स्वतन्त्रपूर्वक बाँच्न पाउनुपर्छ भन्ने कुरा लेखकले कवितामार्फत् प्रस्तुत गरेको बताउनुभयो । कविता संग्रहका लेखक केबीले शून्यताभित्र संघर्ष गर्नुपर्छ र केही गरौं भन्ने उद्देश्यले नवौं कृतिका रुपमा कविता संग्रह अभिमन्यु नयाँ भूमिकामा ल्याइएको बताउनुभयो । ‘आफ्नो देश भनेको आफ्नै देश हुन्छ’ शीर्षकको कविता लेखक केबीले वाचनसमेत गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नात्तकोत्तर तह तथा कानुन संकायमा स्नातक तह अध्ययन गर्नुभएका केबी पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत् कानुन संकायमा स्नात्तकोत्तर तह अध्ययनरत हुनुहुन्छ । उहाँले स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट वाणिज्य तथा आइटीसम्बन्धी अध्ययन गर्नुभएको छ ।
कृति विमोचनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको भन्दै केबीले साहित्यकारहरु पुरुषोत्तम अचार्य र सीएम रिमाललाई नगदसहित पुरस्कारस्वरुप पुस्तक हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा जिल्ला न्यायाधीशहरु कमलराज बिष्ट, सीता शर्मा अधिकारी, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्ति प्रियबन्दनाको पनि उपस्थिति रहेको थियो ।