हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, आमभञ्ज्याङमा आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मकवानपुरको थाहा नगरपालिकास्थित सहीद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक आमभञ्ज्याङ युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतिष्ठानले उपाधिसँगै ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको आयोजक आमभञ्ज्याङ युवा क्लबले ३३ हजार ३ सय ३३ रुपैयाँमा चित्त बुझाएको छ ।
जिल्लाका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा थाहा नगरपालिकाको आग्रा खेलकुद विकास समिति तेस्रो भएको छ भने हेटौंडा–११ स्थित छहारी युवा समाज चौथो भएको छ । शनिबार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पुरस्कार वितरण गर्नुभएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधि विजेता सहीद सुनिता स्मृति प्रतिष्ठानका राजाराम स्याङ्तान घोषित हुँदा उत्कृष्ट स्पाइकर आमभञ्ज्याङ युवा क्लबका आशिष घलान घोषित भए । यस्तै उत्कृष्ट ब्लकर आग्रा खेलकुद विकास समितिका सविन कार्की घोषित हुँदा उत्कृष्ट सेटर प्रतिष्ठानकै राजकुमार कर्माचार्य घोषित भए ।
आयोजकले केशवलाल श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार धर्मेन्द्र दाहाललाई सम्मान गरिएको छ । पत्रकारिता पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । शनिबार प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा आमभञ्ज्याङका युवा तथा अग्रज भलिबल खेलाडीसहित भलिबल खेलको विकासमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।