Home खेलकुद भलिबलको उपाधि सहीद सुनिता स्मृति प्रतिष्ठानलाई

भलिबलको उपाधि सहीद सुनिता स्मृति प्रतिष्ठानलाई

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, आमभञ्ज्याङमा आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मकवानपुरको थाहा नगरपालिकास्थित सहीद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक आमभञ्ज्याङ युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतिष्ठानले उपाधिसँगै ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको आयोजक आमभञ्ज्याङ युवा क्लबले ३३ हजार ३ सय ३३ रुपैयाँमा चित्त बुझाएको छ ।

जिल्लाका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा थाहा नगरपालिकाको आग्रा खेलकुद विकास समिति तेस्रो भएको छ भने हेटौंडा–११ स्थित छहारी युवा समाज चौथो भएको छ । शनिबार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पुरस्कार वितरण गर्नुभएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधि विजेता सहीद सुनिता स्मृति प्रतिष्ठानका राजाराम स्याङ्तान घोषित हुँदा उत्कृष्ट स्पाइकर आमभञ्ज्याङ युवा क्लबका आशिष घलान घोषित भए । यस्तै उत्कृष्ट ब्लकर आग्रा खेलकुद विकास समितिका सविन कार्की घोषित हुँदा उत्कृष्ट सेटर प्रतिष्ठानकै राजकुमार कर्माचार्य घोषित भए ।
आयोजकले केशवलाल श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार धर्मेन्द्र दाहाललाई सम्मान गरिएको छ । पत्रकारिता पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । शनिबार प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा आमभञ्ज्याङका युवा तथा अग्रज भलिबल खेलाडीसहित भलिबल खेलको विकासमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

Exit mobile version