गरिबका लागि जुनसुकै मौसम पनि प्रतिकूल हुने गर्दछ । गर्मी हुँदा शीतलताको पूर्ति गर्ने भौतिक सुविधा हुँदैन भने चिसो बढ्दै जाँदा ज्यानसमेत जाने गरेको छ । यतिबेला देशभर मौसम परिवर्तन भई चिसो बढेको छ । सरकारले चिसोको मापन बताउँदै गर्दा पीडित नागरिकको जीवन रक्षाका उपायको पनि खोजी गर्नु आवश्यक छ । आर्थिकरुपमा सम्पन्नहरुका लागि मौसम परिवर्तनले कुनै फरक पार्दैन । तर विपन्न परिवारका लागि मौसमसमेत जहिले पनि प्रतिकूल बन्दै आएको छ । नागरिकको जीवन रक्षाको दायित्व राज्यको हो । चिसो बढ्दै छ भनेपछि उनीहरुलाई सुरक्षाका लागि गर्न सकिने सहयोगको पूर्वतयारी आवश्यक छ । तर राज्य संयन्त्र कहिल्यै पनि पूर्वतयारीमा रहेको पाइँदैन ।
तराई क्षेत्रमा चिसो तथा शीतलहर सुरु भएपछि कठ्याङ्ग्रिएर धेरैले ज्यान गुमाउँदै आएका छन् । यस्तै हिमपातका कारण हिमाली क्षेत्रका नागरिकको दैनिकी कष्टकर हुने गर्दछ । मौसममा परिवर्तन अचानक आउने होइन । प्रत्येक वर्ष आउने मौसम र त्यसको प्रभावका विषयमा राज्य संयन्त्र सञ्चालकहरु पूर्वजानकार हुँदा पनि तयारी भने पटक्कै गरेका हुँदैनन् । आगलागी भएपछि कुवा खन्ने चिन्तनले गर्दा मौसमले असर गर्न थालेपछि मात्र तयारी सुरु गर्ने प्रचलन छ । मौसम परिवर्तन प्राकृतिक नियम नै हो । राज्यले यसलाई बदल्न सक्दैन, तर नागरिकलाई हुने समस्या समाधानमा पूर्वतयारी गर्न सक्नुपर्दछ । राज्यमा तीन तहका सरकार छन् । तर नागरिकले संकटका समयमा सरकारको अनुभूति गर्न पाएका छन् त ? भन्ने प्रश्न छ ।
कोरोना महामारीको चपेटामा परेको नागरिक जीवनलाई सहज बनाउन सरकारहरुले ठोस कार्यक्रम ल्याउन नसकेको अवस्था छ । त्यसमाथि प्रत्येक वर्ष बर्खामा भलबाढी तथा हिउँदमा शीतलहर र चिसोले नागरिक आहत हुँदै आएका छन् । एकसरो कपडाका भरमा जीवन धान्दै आएका परिवारका सदस्यको चिसो मौसममा कठ्याङ्ग्रिएर मृत्यु हुने गरेको छ । यस्ता खबरहरुको पर्खाईभन्दा अहिलेदेखि न्यानो कपडा वा छानो वा आवश्यक दाउराको व्यवस्थापन गर्न सक्नुपर्दछ । मृत्युको संख्या गन्ने र समाचार पर्खनेभन्दा राज्यका निकायहरुले पूर्वआँकलन गर्न सक्नुपर्दछ । मानिसको ज्यान गएपछि परिवारलाई क्षतिपूर्ति वा सहयोग गर्ने परम्पराजस्तै छ । तर पूर्वहोशियारी गर्नु राज्यको दायित्व हो । यसका लागि नागरिक समाज पनि क्रियाशील हुनु पर्दछ ।
मृत्यु भएपछि परिवारलाई राहत दिनुभन्दा मानिसको ज्यान बचाउने उपायको खोजी हुनुपर्दछ । अति विपन्न परिवारको लगत लिएर बसोबासको उचित प्रबन्ध गर्न सकिन्छ । स्थानीय तहका एकाईमार्फत् तथ्यांक लिने र आवश्यकता पहिचान गरेर योजना बनाउनु पर्दछ । नेपालमा अहिले चिसो सुरु भएको छ । अझै पनि त्यस्ता परिवारलाई आवश्यक पर्ने न्यानो कपडा वा दाउरा वा अन्य प्रबन्ध गर्न सकिन्छ । तर तयारी भएको देखिँदैन । राज्यका तर्फबाट सोचाई राखेको सार्वजनिक भएको छैन । नागरिक बिचल्लीमा परिसक्दा सम्बन्धित निकायहरुको सक्रियता नहुनु दुर्भाग्य नै हो । तराई क्षेत्रमा सामूहिकरुपमा दाउरा वितरण गर्नेदेखि पहाडी क्षेत्रमा न्यानो कपडा उपलब्ध गराउनु पर्दछ ।