१. एकै दिनमा ३० जनासम्म शिक्षकहरुले राजिनामा गरेको समाचार अहिले मिडियामा छरपष्ट भएको छ । जिम्मेवार व्यक्तिहरु भने राजनीतिक कारणले यो स्थिति आएको भन्दै थप खोतल्ने बाटो बन्द गर्ने कसरतमा व्यस्त रहेको देखियो । राजनीतिक पार्टीहरुको स्थानीय तहदेखि केन्द्रीयस्तरसम्मको अधिवेशन अनि विभिन्न पदहरुमा शिक्षकहरुको प्रतिनिधित्वसँगै अदालतले गरेको आदेशसँग जोडेर यो राजिनामाको लहर बढेको अनुमान गरिएको छ । यस आलेखमा उक्त अनुमानमा पटक्कै सत्यता नभएको भन्न खोजिएको भने होईन । अनेकौं शिक्षक कर्मचारीहरुले छदम नाममा राजनीतिक पार्टीहरुको कार्यकारी पदमै रहेर काम गर्दै आएको स्थिति जगजाहेर छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशको घोषणा पश्चात शिक्षण पेशामा संलग्न भै राजनीतिक पार्टीका जिम्मेवार पदमा रही काम गरे बापत कसैले दण्ड–सजाय पाएको सुनिएको छैन । यद्यपि ऐन नियममा भने कारबाहिका प्रसंग पञ्चायतकालदेखि नै पटक–पटक सार्दै आउने परम्परा कायमै छ ।
२. प्रचलित शिक्षा ऐन नियमले शिक्षकहरुको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष किटानी गरेको छ । सो हद नपुग्दै शिक्षकहरु किन जागिर छोडिरहेका छन् ? यसका कारण र भित्रि रहस्यहरु खोतल्ने प्रयत्न जरुरी छ वा छैन ? तर्क–बितर्कको वकालतमा नलागी सम्भाव्य अवस्थाहरु अध्ययन गर्न जरुरी महसुस भने गरिएको छ । धेरैलाई जिज्ञासा हुन सक्छ । नेपालमा शिक्षण पेशा अनाकर्षक सावित भएकै हो त ? बेरोजगारीको पीडासँग जुधिरहेका नेपालीहरुमा शिक्षक बन्ने रहर व्यापक हुनुपर्ने होईन र ? शिक्षक सेवा आयोगको परीक्षामा त बाक्लो भीड नै देखिन्छ ।
यो विरोधाभाष स्थिति बारे विभिन्न कोणबाट फरक–फरक विचारहरु बाहिर आएको पाईन्छ । शिक्षित जनशक्ति बिदेशिने लाम घटेको छैन बरु प्रतिदिन बढेको भनिएको छ । यो निरिहता र बाध्यता वा रहर बारे खोज भएको पाईंदैन । सरकारी तथा गैरसरकारी सेवामा शिक्षित जनशक्तिको आवेदन विवशता र निरिहता अनि बाध्यता भएको टिप्पणी पनि सुनिएको छ । पहुँच र पैसा नहुनेहरु जतिसुकै क्षमतावान भए तापनि सरकारी तथा अर्धसरकारी सेवामा अयोग्य सावित हुने स्थितिले दक्ष युवाहरुमा नैराश्यता उत्पन्न भएको तथ्यमा शंका छैन ।
३. पछिल्लो समयमा जागिर राजिनामा गर्ने शिक्षकहरु सबै पेन्सन होल्डर रहेका छन् । माध्यमिक शिक्षकमा स्थायी पोष्टिङ भएको शिक्षक सो छोडेर निजामतीको खरिदार पदमा जाँदा त्यसको कारण विश्लेषण गर्ने प्रयत्न कुनै विज्ञबाट भएन । पेशागत निराशा र वितृष्णा गम्भिर समस्या भन्नै पर्दछ । यद्यपि तमाम शिक्षण पेशाकर्मी अत्यन्त योग्य, सक्षम र ईमान्दार मात्र छन् भन्ने जिकिर पटक्कै गर्न खोजिएको होईन । प्रत्येक सिक्काको दुई पाटा भने झैं शिक्षकहरु सबैलाई एउटै डोकोमा राखेर गोलमटोल मूल्यांकन गर्नु कदापि न्यायसंगत हुनै सक्दैन । कुनैबेला सबै शिक्षक कर्मचारीहरुको शैक्षिक योग्यताका प्रमाणपत्रहरुको शुद्धता परीक्षण वा छानबिन गरिने कुरा बाहिर आउँदा राजिनामा गर्ने शिक्षकहरुको संख्यामा अनपेक्षित बृद्धिको लहर आएको तथ्य स्मरणीय छ । यद्यपि शैक्षिक योग्यताका सवालमा न्यायाधीशहरुदेखि प्रहरी सेना र कर्मचारीहरुमा बारम्बार ठूलै कम्पनिका समाचारहरु मिडियामा आएका छन् । जागिर नै छोडेपछि सक्कली नक्कली छानबिनको प्रसंगै छोड्ने गरेको वास्तविकता हामी धेरैले देखेका छौं ।
४. केहि स्थानीय तहहरुले शिक्षकहरुका लागि गोल्डेन ह्याण्डसेक कार्यक्रम बाहिर ल्याए पश्चात पेन्सन भैसकेका अवकाशका लागि दुईचार वर्ष मात्र बाँकी रहेका शिक्षकहरुले उक्त निर्धारण गरिएको अतिरिक्त रकम बुझ्दै जागिर छोड्दै गरेको समाचार अहिले चर्चामा छ । समयानुकुल शिक्षण विधि, शैली, प्रविधिको प्रयोगमा जान नसकेका र अशक्त तथा बृद्ध देखिएका शिक्षकहरुको बदलामा युवा जनशक्तिको प्रवेश गराउने उद्देश्यले पालिकाहरुले स्वेच्छिक स्वर्णिम अवकाश योजना ल्याएको हुन सक्छ । यस कार्यक्रमका राम्रा नराम्रा पक्षहरु यहाँ केलाउन खोजिएको भने होईन । यद्यपि यो कार्यक्रमको आकर्षणले पनि शिक्षण पेशा छोड्न प्रोत्साहन गरेको तथ्यमा बिमति छैन । पेशागत बितृष्णा र कतिपय आफ्नै निजी कारणहरुले समेत शिक्षण पेशा छोड्न परेको भनाईहरु पनि सुनिएको छ । शिक्षण पेशाप्रति सरकारी र आम नागरिकको दृष्टिकोण सकारात्मक पाईंदैन । अन्य मुलुकहरु भन्दा बिल्कुलै विपरित व्यवहार भएको कारणले नेपालमा शिक्षण पेशा हेय तथा निकम्मा र कतै अन्यत्र काम नपाएर यो पेशामा आएको जस्तो बुझाई सरकारी संयन्त्र सहित अधिकांश व्यक्तिका व्यवहारले सावित गरिरहेका छन् ।
५. शिक्षण पेशाकर्मीहरुमा शिक्षण पेशालाई सहायक वा दोश्रो पेशाको रुपमा बुझ्ने र सो बमोजिमको अनुशरण गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको तथ्य भुल्न मिल्दैन । अन्य जागिरमा पाईलै पिच्छे यो वा त्यो नाममा भत्ता बुझ्ने र अनियमित रकम आर्जनको मौका हुने तर शिक्षण पेशामा तोकिएको तलब बाहेक अन्य अतिरिक्त सुविधा केहि नहुने भएकाले पनि उच्च नैतिकता रटेर निर्बाह कठिन भएकाले पेशागत बिरक्तिपन बढेको स्विकार गरिएको छ । सबैभन्दा बढि हेपाई र तिरस्कृत पेशागत पीडा नै शिक्षण पेशाकर्मीको आजको मूल वर्गीय समस्या हो ।
जागिर त हामीले आयोगबाट परीक्षा उत्तिर्ण गरेको उपलब्धि हो भने काम गरे बापत त अलगै भत्ता पाउनुपर्छ भन्ने दरिद्र मानसिकताले शिक्षण पेशामा पनि प्रवेश पाईसकेको छ । यो राष्ट्रकै अत्यन्त घातक र गम्भीर प्रवृत्ति बन्न सक्छ । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने ईच्छाको कारणले हाल कतिपय शिक्षकले राजिनामा दिएको भन्ने झिनो आवाज पनि बाहिर आएको छ । यद्यपि उम्मेदवार बन्ने शिक्षकले उम्मेदवारी दर्ता गरे पश्चात मात्र जागिर राजिनामा गरेको तथ्य बिगतका निर्वाचनले पुष्टि गरेको छ । अधिवेशनमा प्रतिनिधि भएको वा आगामी निर्वाचनमा उम्मेदवार बन्ने ईच्छाको मात्र कारणले शिक्षकले राजिनामा दिए भन्नु सरासर विषयवस्तुलाई कुल्चने प्रयत्न नै हो ।
६. मंसिर महिनामा अनिवार्य अवकाश हुने भन्दा बाहेक ३६८ जना शिक्षकले राजिनामा दिएको तथ्य बाहिर आएको छ । यो क्रम बढिरहेको भनिएको छ । यस पछाडिका कारणहरुमा तपसिलका प्रसंगहरु सतहमा देखिएका छन् ।
क. पेशागत निराशा र वितृष्णा विशेषगरी पेन्सन होल्डर शिक्षकहरुमा अधिक देखियो ।
ख. २०४८ सालमा स्वतः स्थायी भएका शिक्षकहरु २०६७ सालमा स्वतः प्रमोशन भएकाको सेवा अवधि ३० वर्ष भै पेन्सन नै तलबको करिब ६५ प्रतिशत हुने र हालको अवस्थामा ३५ प्रतिशत तलबमा काम गर्नु भन्दा जागिर छोडेर विकल्प रोज्दा उपयुक्त हुने भावनाको विकास भएकाले ।
ग. कतिपय स्थानीय तहले स्वेच्छिक स्वर्णिम अवकाश योजना मार्फत पुराना बुढा शिक्षकहरुलाई बिदाई गर्ने कार्यक्रम कार्यान्वयनमै ल्याईसकेकाले ।
घ. बैदेशिक रोजगारीको भिजा ढिलो भएर र अन्य वैकल्पिक पेशाको सुनिश्चितताका लागि पर्खिरहेका युवा शिक्षकहरुले ती अवसर पाएको अवस्थामा शिक्षण पेशाबाट बाहिरिँदा उपयुक्त महसुस गरेकाले । शिक्षण पेशा वेटिङ स्टेशन वा पार्क जस्तो बस वा ट्रेन आउने बित्तिकै छोडिहाल्ने स्थिति पनि एक कारण बनेको छ ।
ङ. बिगत दुई वर्षदेखि कोभिड–१९ का कारणले अनलाईन शिक्षण विधि प्रयोग गर्ने वा प्रविधियुक्त शिक्षण गर्नैपर्ने बाध्यात्मक स्थितिको सन्दर्भमा अबको शिक्षा प्रविधिबाट अलग हुनै नसक्ने र परम्परागत बिधिमा रुपान्तरणको अवस्थासँगै राष्ट्रिय अन्तर्राष्ट्रिय आधुनिक शैक्षिक प्रणालीको मार्गमा जटिलता बेहोर्नु भन्दा जागिर छोडेर मार्ग प्रशस्त गर्नु नै हितकर देखिएकाले ।
च. दरबन्दि मिलानको सन्दर्भसँग पनि जोडेर मिलानको क्रममा अपायक र पीडा दिने नियतले गरिने सरुवा पनि राजिनामाको कारण बन्नसक्छ भन्ने टिप्पणीमा केहि न केहि सत्यता हुन सक्छ ।
अन्तमा, उल्लेखित कारणहरु मात्र शिक्षकले राजिनामा गर्ने किटानी अवस्था हो भन्नु अगावै अरु पेशागत रुची जाँगर र काम प्रतिको उत्साह महत्वपूर्ण सवाल हो । बिधि, कानूनले गरेको व्यवस्था बमोजिम हद अवधिसम्म पेशामा रमाउँदै सन्तोषजनक बिदाईको अपेक्षा आम शिक्षकहरुको चाहना हो । मर्यादित र सम्मानजनक पेशागत व्यवहार र दृष्टिकोण सबै पेशाको मूल मर्म हो । यद्यपि प्रत्येक पेशाका विकृत र भ्रष्ट पक्षहरुको समूल अन्त्य हामी सबैको अपेक्षा रहेको छ । (लामिछाने हेटौंडा–६, चौघडास्थित वंशगोपाल माविका प्रधानाध्यापक हुनुहुन्छ ।)