हेटौंडाः ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्यअन्तर्गत सार्वजनिक खरिद विषयमा छलफल भएको छ । शक्ति श्रेष्ठले सार्वजनिक खरिद विषयमा प्रशिक्षण गर्नुभएको थियो भने त्रिलोचन आचार्यले सार्वजनिक खरिद व्यवस्थापन तथा लेखापरीक्षण कारोबारबारेमा जानकारी दिनुभएको छ । यस्तै हरि उपाध्यायले प्रदेश सार्वजनिक खरिद नियमावलीसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम सार्वजनिक सेवामा जवाफदेहिताको माग बढाउने र शासन पद्दति प्रभावकारी तथा जवाफदेही बनाउन पहल गर्ने उद्देश्यले रहेको हो । बागमती प्रदेश प्रमुख सचिव किरण शर्माको प्रमुख आतिथ्य तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । प्रमुख सचिव शर्माले कानुनले निर्देशित गरेअनुसार खरिद प्रक्रियामा कार्यान्वयन नभएको बताउनुभयो । संघीय तहमा नै कार्यान्वयनका लागि चुनौती बन्ने गरेकाले बजेट फ्रिज भएर जाने तथा कार्य नै प्रभावकारी गर्न नसकिएको बताउनुभयो ।

जसअनुसार निर्माण कार्य ढिलासुस्ती, अव्यवस्थित तथा लापरवाही हुने गरेकाले सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायत प्रदेश सरकार खरिद इकाई प्रमुख तथा प्रतिनिधि, संघीय सरकारअन्तर्गतका कार्यालय प्रमुख तथा प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिको उपस्थिति रहेको थियो ।