उद्योग कलकारखानाहरु नागरिकको जीवनसँग जोडिएका विषय हुन् । नागरिक तथा राज्यकै अर्थव्यवस्थामा महत्वपूर्ण योगदान उद्योगहरुले नै पुर्‍याउँदै आएका छन् । विश्वमा धेरै देशहरु उद्योगहरुकै कारण सम्पन्न बनेका छन् । प्रत्येक नागरिकको जीवन जोडिएको उद्योगसँग स्थानीय नागरिकहरुको सुमधुर सम्बन्ध भने बन्न सकेको छैन । विशेषगरी विकासोन्मुख मुलुकहरुमा नागरिक र उद्योगबीच बढी विवाद हुने गरेको पाइन्छ । नेपालमा त मजदुरदेखि नागरिकसमेत उद्योगहरुका विरुद्धमा उत्रनुपर्ने बाध्यता छ । कसैलाई पनि रुख काटेर फल टिप्ने ईच्छा हुँदैन । फेरि अर्को पटक पनि फल टिप्न बोटको सुरक्षा गर्नुपर्दछ । तर नेपालमा उद्योगविरुद्ध हुने आन्दोलनका सम्बन्धमा अध्ययन हुन आवश्यक छ ।

देशलाई राजश्व तिर्ने र स्थानीय समेतलाई रोजगारी दिइरहेका उद्योगका विरुद्ध नागरिकले आन्दोलन गर्नुपर्ने बाध्यता किन श्रृजना हुँदै आएको छ ? नागरिक र उद्योगबीच हुने असमझदारी हटाउनेतर्फ राज्यका निकायहरुको भूमिका महत्वपूर्ण हुन्छ । तर उद्योग र नागरिक आफ्ना अडानमा कायम रहँदा समस्या श्रृजना भएको हो । राज्यले उद्योग सञ्चालन गर्न दिँदा अपनाउनुपर्ने पूर्वसुरक्षा र सावधानीमा चुक्ने गरेको छ । जसले गर्दा उद्योग सुरु भएपछि त्यसको नकारात्मक असर स्थानीयले भोग्नु परेपछि विवाद हुने गरेको हो । पूर्वअध्ययन गरिएको भए पनि नागरिक पक्षबाट चिन्तन गर्ने वा उनीहरुको सहभागितामा योजना र नीति बनाउने हो भने असमझदारी न्यूनीकरण हुन जाने देखिन्छ ।

मकवानपुरमा सञ्चानल हुँदै आएका विशेषगरी सिमेन्ट उद्योगहरु र नागरिकबीच सुमधुर सम्बन्ध कायम हुन सकेको छैन । उद्योगहरुले कच्चापदार्थ उत्खनन् गर्ने क्षेत्र तथा उद्योगबाट निस्कने फोहोर व्यवस्थापन वा धुवाँधुलोजस्ता विषय विवादमा पर्ने गरका छन् । कतिपय अवस्थामा बस्तीका बीचमा उद्योग स्थापना गरिएको छ भने उत्खनन् क्षेत्र पनि गाउँबस्तीभित्रै हुने गरेका छन् । यस्ता ठूला उद्योगहरु बस्तीभन्दा दुरीमा हुनुपर्ने हो । तर कतिपय अवस्थामा उद्योग सुरु भएपछि बस्ती विकास हुने र त्यही उद्योगविरुद्ध लाग्ने प्रवृत्ति पनि छ । यस्तो समस्या मकवानपुरमा चाहिँ किन बारम्बार दोहोरिन्छ ? दीर्घरुपमा समाधान किन हुन सक्दैन ? क्षणिकभन्दा दीर्घकालीन समाधानको खोजी हुनुपर्दछ ।

ऋद्धिसिद्धी सिमेन्ट उद्योगले उत्खनन् गर्ने क्षेत्र राक्सिराङको विवाद समाधान भएको छैन फेरि शिवम् सिमेन्ट उद्योगविरुद्ध मानिसहरुले आन्दोलनको घोषणा गरेका छन् । लामो समयदेखि मकवानपुरगढीको सुकौरास्थित शिवम् सिमेन्टको खानीहरु विवादमा आउने गरको छ । शिवम् सिमेन्टको खानीको लापरबाहीले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । उत्खनन्पछि आवश्यक नभएको ढुंगा, माटो, कंक्रिट अस्तव्यस्त छोड्दा स्थानीय जीवन जोखिमपूर्ण बन्ने गर्दछ । कच्चा सामग्रीले खोलानाला भरिँदै गएपछि भेल बस्तीमा पस्ने, दुर्घटना बढाउनेदेखि श्वासप्रश्वासमा समस्या तथा वातावरणसमेत दुषित हुने गर्दछ । यस्ता समस्या समाधान गर्नु उद्योगको जिम्मेवारी हो । तर आन्दोलन नै गर्नुपर्ने किन ? विवादलाई सधैंका लागि अन्त्य गरेर सहजरुपमा उद्योग सञ्चालन गर्ने वातावरण बनाउनु पर्दछ ।