मोतियाविन्दुको शल्यक्रियापछि सोमबार बिहान आँखाको पट्टी निकाल्दै स्वास्थ्यकर्मी ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले आयोजना गरेको निशूल्क आँखा शिविरमा पहिचान भएका मोतियाविन्दुका समस्या भएका विरामी मध्ये १ सय २३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालमा आइतबार, सोमबार र मंगलबार गरी शल्यक्रिया गरिएको हो । आइतबार र सोमबार शल्यक्रिया गरिएका ९९ जनाको शल्यक्रियापछि सोमबार डिस्चार्ज गरिएको छ ।

रोटरी क्लब अफ हेटौंडाले वार्षिक कार्यक्रमअन्तर्गत गत शुक्रबार रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा निशूल्क आँखा परीक्षण शिविरको आयोजना गरेको थियो भने शनिबार मकवानपुरको मनहरी गाउँपालिका–१, मकरीस्थित बालजीवन ज्योति मावि र मनहरी–३, हाँडीखोलास्थित महेन्द्रज्योति माविमा आँखा शिविर आयोजना गरेको थियो । रोटरी क्लब अफ तास्मानिया अष्ट्रेलियाको सहयोगमा रोटरी क्लब अफ हेटौंडाले हेटौंडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविरको आयोजना गर्ने गरेको छ ।

रौतहटको वृन्दावनमा ९७ जनामा मोतियाविन्दुका बिरामी भेटिएकोमा ७७ जनाको शल्यक्रिया गरी उपचार गरिएको छ भने मनहरी गाउँपालिकाका ५७ जनामा मोतियाविन्दुको विरामी मध्ये ४६ जनाको शल्यक्रिया गरी उपचार गरिएको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिनुभएको छ । शल्यक्रियाका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालसम्म आइपुगेका केही विरामीको भने स्वास्थ्यमा समस्या देखिँदा शल्यक्रिया हुन नसकेको शर्माको भनाई छ ।