नयाँ रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा नेपालमा खोप अभियान तिब्र गतिमा बढिरहेको छ । दैनिक एक लाख हाराहारीमा मानिसहरुले कोरोनाविरुद्ध खोप लगाउँदै आएको सरकारको दावी छ । भाइरसबाट बच्न खोपमात्र पर्याप्त होइन । तर यसले संक्रमण दर घटाउनेदेखि मृत्यु न्यूनीकरण गर्ने विज्ञहरुको दावी छ । खोपकै कारण हुनसक्छ, पछिल्लो समयमा विश्वमै कोरोनाको संक्रमण न्यूनीकरण हुँदै गएको छ । तर परिवर्तित रुप ओमिक्रोनले फेरि भयग्रस्त बनाएको छ । धेरै देशहरुमा प्रतिबन्धका कार्यक्रमहरु सुरु भइसकेका छन् । भाइरस उत्पत्ति भएको तीन वर्ष लाग्दासमेत जोखिम उस्तै हुनुले यसको नियन्त्रणमा विज्ञानलाई ठूलो चुनौती छ ।

कोरोनाविरुद्धको खोपबाट अहिलेसम्म वञ्चित हुँदै आएको उमेर समूहलाई पनि सरकारले खोप लगाउन थालेको छ । १८ वर्षमाथिका सबैले खोपको सेवा जहाँबाट पनि सहजै पाउने अवस्था छ भने १८ वर्षभन्दा कम उमेर समूहका बालबालिका जोखिममा छन् । विश्वका कतिपय देशहरुले अन्य खोपजस्तै बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छन् । तर नेपालमा भने १२ माथिका बालबालिकाका लागि अहिले अभियान सञ्चालन गरिरहेको छ । मकवानपुरमा पनि १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई मोडर्ना खोप लगाउन सुरु भएको छ । जिल्लाकै प्रतिनिधित्व गरी संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हेटौंडाको भूटनदेवी माध्यमिक विद्यालयबाट खोप कार्यक्रमको सुरुवात गरेका हुन् ।

हेटौंडामा बालबालिकाका लागि खोप अभियान सुरु भए पनि उत्साह निकै कम देखिएको छ । अहिले संक्रमण कम हुँदै गएकाले हुनसक्छ खोपप्रति मानिसको चासो कम भएको हो । तर मौका आउँछ पर्खंदैन भनेजस्तै खोप आएको समयमा उत्सुकतापूर्वक लगाउनु पर्दछ । सरकारले विद्यालयहरुमै खोप केन्द्र सञ्चालन गरेको छ । जसले बालबालिकाहरुले सहजै सेवा पाउन सक्नेछन् । तर यसका लागि अभिभावकहरु जगरुक हुन आवश्यक छ । खोप केन्द्र सञ्चालन भएका विद्यालयमै सबै विद्यार्थीहरुले खोप लगाएका छैनन् । अभिभावकको अनुमतिबिना कोरोना खोप लगाउने अवस्था छैन । कोरोनाको जोखिम न्यूनीकरणका लागि अब सक्रिय हुने समय अभिभावकको हो ।

विद्यालयहरुमै खोप केन्द्र सञ्चालन गर्ने सरकारले बताइरहँदा के सम्पूर्ण विद्यालयमै पुग्ने हो वा होइन भन्ने प्रश्न छ । आधारभूतदेखि निजी विद्यालयहरुमा पनि खोप केन्द्र पुग्नसक्ने अवस्था छैन । यस सम्बन्धमा सरकारले प्रष्ट पार्नु आवश्यक छ । खोप लगाउने इच्छा भए पनि आफ्नै विद्यालयमा केन्द्र आउने प्रतीक्षामा कहिलेसम्म बस्नुपर्ने हो ? यदि पायक पर्ने ठाउँको वरिपरिका विद्यालयका बालबालिकाले पनि सेवा लिन पाउने हुन् भने त्यस कुराको सूचना सार्वजनिक हुन आवश्यक छ । पहिलो चरणमा मकवानपुर जिल्लाका लागि जम्मा ५५ हजार डोज मोडर्ना खोप आएको छ । फेरि कहिले आउने हो भन्ने प्रष्ट खाका बनिसकेको छैन । त्यसैले आएको मौकामा आफ्ना नानीबाबुलाई खोप लगाइदिएर जोखिम न्यूनीकरण गर्ने क्रममा अभिभावकहरुको सक्रियतापूर्वक अभिरुचि आवश्यक छ ।