हेटौंडाः माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्षमा मकवानपुरका नेता प्रेम बहादुर पुलामी (छिन्तु) विजयी हुनुभएको छ । सोमबार बागमती प्रदेशको नेतृत्व चयन गर्न भएको मतदानमा सार्वजनिक मतपरिणाम अनुसार पुलामी १३८ मतसहित प्रदेश उपाध्यक्षमा विजयी हुनुभएको हो ।
बागमती प्रदेश सभा सदस्य समेत रहनुभएका छिन्तु सँगै वाग्मती प्रदेशको उपाध्यक्षमा रुपा महर्जन र रामप्रसाद ढुङ्गाना (कपिल) पनि निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः १७८ र १०१ मत प्राप्त गर्नुभयो । यस्तै अध्यक्षमा सरल सहयात्री पौडेल विजयी हुनुभएको छ । पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गर्नुभयो । दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयो ।
यसैगरी सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित हुनुभयो । उहाँले १४९ मत ल्याउनुभयो । यस्तै सहसचिवमा दल बहादुर बुर्लाकोटी (विजय), माधवप्रसाद लामिछाने (समीर) र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्ष सङ्गीता भट्टराई विजयी हुनुभएको छ । बुर्लाकोटीले ११५, लामिछानेले १०९ र श्रेष्ठले १०८ मत प्राप्त गरेको मोओवादी केन्द्रको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्ष भट्टराईले १५३ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।