हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–८, देवीटारस्थित श्री माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा वडाअध्यक्ष रामकृष्ण प्रजा चयन हुनुभएको छ । अभिभावक भेला भएको अढाई महिनापछि सोमबार वडाअध्यक्ष नै विद्यालयको अध्यक्ष चयन हुनुभएको हो ।

अभिभावकमध्येबाट अध्यक्ष चयन गर्न असफल भएपछि वडाअध्यक्षलाई नै अध्यक्ष चयन गरिएको हो । गत असोज २५ गते नै विद्यालयले अभिभावक भेला आयोजना गरेको थियो । विद्यालय व्यवस्थापन समिति गठन गर्न सहमति हुन नसकेपछि रोकिएको थियो । अभिभावक मध्येबाटै अध्यक्ष चयन गर्ने सहमति हुन नसकेपछि शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार वडाअध्यक्षलाई नै अध्यक्ष चयन गरिएको विद्यालयका प्रधानाध्यापक राजु रेग्मीले जानकारी दिनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिको सदस्यमा गोपिनी प्रजा, कुमारी माया प्रजा, चक्र बहदुर सुनार, सागर स्यङ्तान, अशोक थिङ्ग चयन हुनुभएको छ भने विद्यालयका प्रधानाध्यापक राजु रेग्मी सदस्य सचिव हुनुहुन्छ । २ जना सदस्य मनोनित गर्न बाँकी नै रहेको छ । चालु शैक्षिकसत्रबाटै मावि तह सञ्चालन गरेको विद्यालयमा ४ सय ९८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा विद्यार्थी नियमित नहुनु प्रमुख समस्याको रुपमा रहेको प्रधानाध्यापक रेग्मीको भनाइ छ ।